सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको हो ।
यस संगै अब कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । सागर डिष्टिलरीका अध्यक्ष सन्दिप जलान हुन् । उनी ब्रोकर समेत हुन् । कम्पनीका अन्य ठूला लगानीकर्तामा आशुतोष खेतान र अल्का गोयल छन् ।
कम्पनीले केहि समय अघि ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की बजारमा ल्याएको थियो ।









