सम्पदा लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८२ वैशाख ६ गते शनिवार साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।
३. बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ (२) तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१ / ८२ को वाह्य लेखापरीक्षण कार्य गर्नको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालका लेखापरीक्षक बिपि एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको ।)
४. वित्तीय संस्थाको सञ्चालक समितिमा १ जना महिला सञ्चालक सहित जम्मा ७ जना सञ्चालकहरु मध्ये संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।
विशेष प्रस्तावहरु :
१. नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय (केन्द्रीय कार्यालय) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गैंडाकोट नगरपालिकामा स्थानान्तरण गर्नको लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
२. यस वित्तीय संस्थाको प्रवन्धपत्रका देहायका दफाहरु यसै साथ संलग्न प्रस्ताव संशोधन तालिकाहरु संशोधन गर्न दफा २ को उपदफा १ संशोधन गर्ने सम्बन्धी प्रस्ताव ( रजिष्टर्ड (केन्द्रीय) कार्यालयको ठेगाना) पारित गर्ने साथै संस्थाको नाम अनुमोदन गर्ने । नियम २ (१) वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय (केन्द्रीय कार्यालय) स्थानान्तरण गर्ने सम्बन्धमा र नियम ३२ (१) (ग) वित्तीय संस्थाको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक तथा भ्रमण भत्ता, आव खर्च र वैदेशिक भ्रमण भत्ता प्रदान गर्ने सम्बन्धमा वित्तीय संस्थाको नियमावली संशोधन तथा थप गर्ने प्रस्ताव पारित गर्ने ।
३. भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर / प्राप्ति गर्ने प्रयोजनार्थ उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर/प्राप्ति सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, DDA गर्ने र मर्जर / प्राप्ति सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रकृया सुरु गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव माथि छलफल तथा पारित गर्ने सम्बन्धमा ।
४. उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवम् परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवम् परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न / गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा।










