नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् ।
उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका छन् । ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
ओझा नेपाली कांग्रेसको निकट छन् । उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् । उनीसंग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमा काम गरेको अनुभव छ । उनी प्राध्यापन पेशमा पनि छन् । ३३ वर्षका उनी प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस हुनेहरुमा दामोदर बसौला, शरद ओझा र रामशरण पुडासैनी थिए । जस मध्ये ओझाले बाजी मारेका हुन् ।










