नेपालको पर्यटन बजार यतिबेला भारतीय पर्यटकहरुका कारण गुल्जार देखिएको छ । सामान्यतया, यतिबेला पर्यटनको ‘अफ सिजन’ भएपनि भारतीय पर्यटकको बाक्लो उपस्थितिले पोखरा लगायतका पर्यटकीय गन्तव्य भरिभराउ देखिएका छन् ।
पोखराका पर्यटन व्यवसायी आग्रह अर्यालका अनुसार पछिल्लो दुइ हप्तायता पोखरामा भारतीय पर्यटकको सङ्ख्या धेरै बढेको छ । पर्यटकीय सिजन सकिएर सुनसान हुने बेलामा भारतीय पर्यटकको आगमनले एकाएक पोखराको लेकसाइडसहित आसपासका गन्तव्यहरु भरिभराउ बनेको उनको भनाइ छ ।
‘१५/२० दिन जति भयो इन्डियन टुरिष्टले पोखरा खचाखच भएको छ’ अर्यालले भने, ‘मे, जुन भनेको अफ सिजन सुरु भएर मार्केट डाउन हुने बेला हो, तर भारतीय टुरिष्टहरुको आगमन बढेकाले अहिले पोखराको टुरिजम बुम भएको छ ।’
उनका अनुसार स्थलमार्ग हुँदै आउने भारतीय पर्यटक बढी छन् । बाटो राम्रो बनेकाले आफ्नै सवारी साधन लिएर आउने भारतीय पर्यटक बढी रहेको उनको भनाइ छ । ‘७० प्रतिशतभन्दा बढी इन्डियन टुरिष्ट आफ्नै गाडी लिएर आएका छन्’ उनले भने, ‘ठूलो जनसङ्ख्या भएको देशबाट यसरी पर्यटक बढ्नु भनेको हाम्रा लागि खुशीको कुरा हो ।’
भारतीय पर्यटकको आगमन बढाउने यी चार कारण
टान पोखराका पूर्व अध्यक्षसमेत रहेका अर्का व्यवसायी हरि भुजेलले पनि आफू लेकसाइडमै जन्मिएर हुर्केको भएपनि आजसम्म पोखरामा यसरी भारतीय पर्यटकको ओइरो लागेको नदेखेको बताएका छन् । ‘म लेकसाइडमै जन्मिएँ, हुर्किएँ । तर यति धेरै भारतीय पर्यटक पोखरा आएको मैले देखेको थिइँन’ उनी भन्छन्, ‘अहिले कुनै मेला महोत्सव चलेको पनि छैन, तर भारतीय पर्यटकको उल्लेख्य आगमनले पोखरा भरिभराउँ भएको छ ।’
उनका अनुसार पोखरामा हरेक वर्ष पौषतिर सडक महोत्सव आयोजना हुन्छ । त्यो समयमा पनि भारतीय पर्यटकहरु आउँथे । तर, अहिले उक्त महोत्सवमा आउने सङ्ख्याको तुलनामा सयौँ बढीको सङ्ख्यामा भारतीय पर्यटक आएको उनको उनको भनाइ छ ।
यसरी भारतीय पर्यटकको आगमन बढ्नुमा उनले मुख्यतया ४ कारण देखेका छन् । पहिलोः नेपाल आएर फर्किएका भारतीयहरुले सामाजिक सञ्जालमार्फत गरिदिएको प्रचार । दोस्रोः सहज पूर्वाधार । तेस्रोः भारतमा गर्मीको बिदा । र चौथौः भारत सरकारले डलर खर्चमा गरेको कडाई ।
‘भारतीय पर्यटकहरुले फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत नेपालको प्रचार गरेका छन् । उनीहरुले नेपाल घुमेर फर्किएपछि यहाँका तस्बिर र भिडियोहरु आफ्ना सोसियल प्लेटफर्ममा राखेको र त्यसबाट धेरै प्रचार भएको हामीले पायौँ’ भुजले भन्छन्, ‘त्यसपछि अर्को कुरा भनेको पूर्वाधार अहिले राम्रो बनेको छ । आफ्नै गाडी लिएर सहजै स्थलमार्गमार्फत पोखरा आउन सक्ने भएकाले पनि भारतीय पर्यटकहरु बढेका छन् ।’
उनका अनुसार अर्को कारण भनेको भारतीय सरकारले डलरको खर्चमा गरेको कडाईका कारण पनि घुमफिरमा रुचाउने भारतीयहरु नेपालतर्फ आकर्षित भएका छन् । नेपाल आउँदा डलर खर्च गर्नु नपर्ने र आफ्नै देशको मुद्रा चल्ने भएपछि उनीहरुलाई सहज भएको भुजेलको बुझाई छ ।
‘डलर सञ्चिति बढाउन भारतले सुनको भन्सार बढायो, डलर साटेर जानुपर्ने देशहरुमा भ्रमणमा नजान आफ्ना नागरिकहरुलाई अनुरोध पनि गरेको छ । नेपाल आउँदा त डलर साट्नु परेन, भारु नै चल्ने भयो’ भुजेल भन्छन्, ‘यसकारण पनि भारतीयहरु नेपालतर्फ आकर्षित भएको देखिन्छ ।’
त्यस्तै, अहिले भारतमा गर्मी महिनाको छुट्टी रहेकाले आफ्ना बालबच्चासहित गर्मी छल्न भारतीयहरु पोखरासहित नेपालका विभिन्न गन्तव्यमा आउने क्रम बढेको देखिन्छ । ‘यो हाम्रा लागि सुःखद कुरा हो’ भुजेलले थपे ।
पोखरा मात्रै होइन, काठमाडौँमा पनि भारतीय पर्यटक बढेका छन् । ठमेल, बुढानिलकण्ठ, चन्द्रागिरी जस्ता गन्तव्यमा अहिले भारतीय पर्यटकहरुको चहलपहल उल्लेख्य मात्रामा बढेको व्यवसायीहरुको भनाइ छ ।
पर्यटन व्यवसायी तथा भेहिकल रेन्टल सर्भिसका सञ्चालकहरुका अनुसार अहिले मानसरोवर जाने बाहेक अरु गतिविधि ठप्प हुने बेलामा भारतीय पर्यटकको उल्लेखनीय र अप्रत्याशित आगमनले तारे होटलदेखि बुटिक र टुरिष्ट स्ट्याण्डर्डका होटलहरु अहिले भरिभराउ छन् । स्थलमार्ग हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरु कुस्मा, बेनी, जोमसोम हुँदै सम्भव भएसम्म मुक्तिनाथसम्म पुग्ने र मुक्तिनाथ पुग्न नसकेपनि फर्किदा पशुपतिनाथ दर्शन गर्न भन्दै काठमाडौँ आइपुग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।












