भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक भासिएर यातायात अवरुद्ध भएपछि अहिले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ । तराईबाट ग्यास भरेर ल्याउनुपर्दा ढुवानी लागत बढेको भन्दै उद्योगीले ग्यासको भाउ १०५ रुपैयाँ बढाएर २ हजार १६५ रुपैयाँ तोकेका छन् ।
सामान्य अवस्थामा ग्यासको भाउ नेपाल आयल निगमले तोक्ने हो । तर, अहिले नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको भाउ तोकेको छ । भदौ १८ गते बेलुका एक विज्ञप्ति निकाल्दै संघले आफ्नो ३१औँ वार्षिक साधारणसभाको निर्णयअनुसार २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी ग्यास बिक्री–वितरण गर्न भनेको छ ।
संघका अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर पैसा लिन भनिएको हो ।
नेपाल आयल निगम र संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ल्याउने निर्णय गरेको र यसो गर्दा ढुवानी लागत बढेको संघको भनाइ छ ।
काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरूले समेत सोही क्षेत्रमा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्याउनुपर्ने र यसका लागि हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा १३१ किलोमिटर दूरी हुने र थप ढुवानी खर्च लाग्ने संघले जनाएको हो ।
निगमको पनि स्वीकृति
उद्योगीहरुले बढाएको ग्यासको भाउका सम्बन्धमा आयल निगमले लिखित रुपमा कतै कुनै प्रतिक्रिया नदिएको भएपनि उक्त मूल्यवृद्धिलाई भने स्वीकृति दिएको छ । निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले काठमाडौँमा विभिन्न १८ वटा ग्यास उद्योगले बजारीकरण गर्दै आएकोमा कृष्णभीरको पहिरोले बुलेट आउन नसक्दा तराईका जिल्लाबाट साना गाडीमा आपूर्ति गर्नुपर्ने बाध्यता रहेको बताउँदै यसैकारण मूल्य बढेको बताएका छन् ।
‘काठमाडौँमा ३० किलोमिटर आसपासमा रहेका उद्योगबाट ग्यास आउथ्यो, त्यसो हुँदा सस्तो र सहज थियो’ उनले भनेका छन्, ‘अहिले पहिरोले बाटो बन्द भएपछि तराईका जिल्लाबाट साना गाडीबाट आपूर्ति गर्नुपर्ने हुँदा मूल्य बढेको हो ।’ उनले १ हजार ७ सय रुपैयाँ तिरेर एक किलो खसिको मासु खान सक्ने उपभोक्ताका लागि प्रतिसिलिण्डर ग्यासको भाउ २१ सय रुपैयाँ महँगो नहुने दाबी पनि गरेका छन् ।









