पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो गति मै बग्न थालेको छ । आज दिउँसो पहिरोका कारण दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित चौलानी भनिने चमेलिया नदी केही बेर आंशिक थुनिएको थियो।
केही बेर नदी आंशिक थुनिएपनि अहिले भने नदी पुरानै गतिमा बग्न थालेको छ। पहिरो गएको भन्दा करिव १५ किलोमिटर तल अपि पावर कम्पनीको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना संचालनमा छ । नदी पुरानै अवस्थामा बग्न थालिसकेकोले हाल आयोजनामा कुनै जोखिम नरहेको अपि पावर कम्पनीका प्रबन्ध सञ्चालक सञ्जिव न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार हाल आयोजना सुरक्षित छ र कुनै जोखिम छैन ।
नदीको जलस्तरलाई निरन्तर निगरानी गरिरहेको र जोखिमको अवस्था आएमा सोहि अनुसार तत्काल आवश्यक कदम चाल्नको लागि आयोजनाका कर्मचारीले सतर्कर्ता अपनाएको उनको भनाई छ। उनका अनुसार हाल कुनै समस्या देखिएको छैन र आयोजनाबाट नियमित रुपमा विद्युत उत्पादन भईरहेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदीको तटीय क्षेत्रमा रहेकालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।









