तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौँका मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक, मखनगल्ली लगायतका रैथाने बजारमा किनमेलका लागि ग्राहकहरुको भीड लाग्न थालिसकेको छ ।
यसवर्ष भाइमसलाको भाउ महगिएको छ । एकातिर बाढी पहिरोले समयमै आयात हुन नसक्ने अवस्थाले ढुवानी भाडा बढेको र अर्कातिर जुन देशबाट आयात हुने हो त्यहीँ देशमा भाउ बढ्दा भाइमसलामा प्रयोग हुने मरमसलाको भाउ आकाशिएको व्यवसायीहरुले बताएका छन् ।
खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यसपाली भाइ मसलामा प्रयोग हुने सबैजसो मरमसलाको भाउ बढेको छ । कतिपय सामानको भाउ त ३० प्रतिशतसम्म बढेको उनको भनाइ छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान बज्राचार्यले पनि भाइमसलाको मूल्य बढेको बताएका छन् ।
कुन मसलाको भाउ कति छ ?
यसपाली सुकमेल, काजु, बदाम, ओखर र सुपारीको भाउ निकै आकाशिएको छ । खुद्रा व्यापार संघका अनुसार गतवर्ष प्रतिकिलोग्राम २ हजार ५ सय रुपैयाँ रहेको सुकमेलको भाउ यसपाली दोब्बर पुगेको छ । यसपाली सुकमेलको मूल्य प्रतिकिलो नै ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ पुगेको छ ।
गतवर्ष प्रतिकिलोग्राम १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्म बिक्री भएको काजुको भाउ यसपाली किलोमै २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पुगेको छ । यस्तै, गतवर्ष १ हजार २ सयरुपैयाँ प्रतिकिलोमा बिक्री भएको बदामको भाउ यसपाली प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।
गतवर्ष प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ३ सयसम्म रेहेको सुपारीको मूल्य पनि यसपाली प्रतिकिलो १ हजार ८ सय रुपैयाँसम्म पुगेको छ ।
यसपाली पेस्ताको मूल्य प्रतिकिलो २ हजारदेखि २ हजार २ सय, किसमिसको मूल्य प्रतिकिलो ५५० देखि ७ सय, छोकडाको मूल्य प्रतिकिलो ४५० देखि ५ सय, ओखर प्रतिकिलो ५५० देखि ६ सय, मरिच १ हजार ८ सय, ल्वाङ २ हजारदेखि २ हजार ३५० सम्म, दालचिनी प्रतिकिलो ८ सय र मखन्न प्रतिकिलो २ हजार रुपैयाँमा खुद्रा बिक्री भइरहेको छ ।
अलैँची प्रतिकिलो ४ हजार, मिश्री प्रतिकिलो १८० देखि २६० रुपैयाँ, खुर्पानी प्रतिकिलो १ हजार २ रुपैयाँ, नरिवल प्रतिकिलो ५५० देखि ६ सय रुपैयाँ र अन्जिर प्रतिकिलो २ हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्याकिङ भएर आउने भाइमसलाको बाकसमा १६ थरीका मसला राखिएको हुन्छ । काजु, पेस्ता, बदाम, मखना, नरिवल, छोकडा, ल्वाङ, सुकमेल, अलैँची, दालचिनी, किसमिस, अञ्जीर, ओखर, मिश्री, खुर्पानी र सुपारी सहितको प्याकिङ नै बजारमा उपलब्ध हुने गरेको छ । नेपाली बजारमा मसलाका अलवा चकलेट, मिठाई र सेलरोटी समेत भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसलाका रुपमा दिने चलन छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिना (साउन, भदौ र असोज)मा सवा १ अर्ब बराबरका भाइमसलाजन्य सामान आयात भएको छ । नेपालमा भारतबाट सबैभन्दा धेरै आयात हुन्छ । चीन, भियतनाम, कतार, दबुई, अमेरिका, थाइल्यान्ड लगायतका देशबाट पनि मसलाजन्य सामान आयात हुने गरेको विभागको तथ्याङ्कबाट देखिन्छ ।