बिग्रियो, भत्यिको, केही छैन, सकियो भन्ने जस्ता नकारात्मक चिन्तनलाई चिर्दै व्यक्तिमा सकारात्मक ऊर्जा पैदा गर्न सक्नु नेतृत्वको गुण हो । साथै, आफ्नो हित त सबैले सोच्छन् नै । तर सबैको हित र राम्रो सोच्नु अर्को गुण हो । यस्ता कयन गुणहरुले भरिएका पात्र हुन् दुर्गाप्रसाद सुवेदी । उनी नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभा र निर्वाचनमा केन्द्रीय कार्यकारिणी समिति सदस्यका उम्मेदवार छन् ।
२०३५ सालमा ओखलढुङ्गामा जन्मिएका सुवेदीले अभाव र गरिबी जस्ता सामाजिक समस्यासँग प्रत्यक्ष साक्षात्कार गरेका छन् । त्यसैले त उनी सानैदेखि सामाजिक विकास र उत्थानमा केन्द्रित रहँदै आए । १७ वर्षको कलिलो उमेरमै “ग्रामीण उत्थान सेवा केन्द्र” नामक संस्था स्थापना गरी संस्थापक अध्यक्षको रूपमा काम गर्दै सामाजिक सेवाप्रति समर्पित भएका उनले यसबीचमा रोट्याक क्लब, जेसीआई नेपाल लगायत विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । रोटरी क्लब अफ पशुपतिको सन् २०१३–१४ का अध्यक्ष समेत रहेका उनले अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त यस संस्थाको विभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनी रोटरी डिस्ट्रिक्ट गभर्नरका लागि तयारीमा समेत छन् ।

सामूहिकतामा विश्वास गर्ने दुर्गाप्रसाद नेपालका उद्यमी व्यवसायीहरुलाई ‘समस्यै समस्यामा पनि फक्रिएका फूलहरु’को संज्ञा दिन्छन् । नीतिगत जटिलता, कानूनी अड्चन र उद्यम व्यवसायका लागि व्यवहारिक पक्षसमेत असजिला देखिने नेपाली समाजमा उनी सुनौलो बिहानी आउँछ भन्ने विश्वास राखिरहेका छन् । ‘क्रियशन’मा लगानी गरेर रोजगारी र राजस्वमा योगदान दिइरहेको निजी क्षेत्रलाई कुनै अतिरिक्त प्रोत्साहन होइन, निर्वाध रुपमा काम गर्न दिए मात्रै पनि मुलुकलाई आर्थिक समृद्धिको राजमार्गमा सयर गर्न लामो समय नलाग्ने उनको बुझाई छ ।
‘उद्यमी व्यवसायी भनेको क्रियशन गर्ने समुदाय हो, यो समुदायले सरकारबाट अतिरिक्त प्रोत्साहन भन्दा पनि निर्वाध रुपमा सहजै काम गर्न सक्ने वातावरण मात्रै खोज्छ’ दुर्गा भन्छन्, ‘कानूनका दफाहरु व्यवहारिक हुनुपर्यो । उद्योगी व्यवसायीबाट गल्ती हुँदैन भन्ने होइन, गल्ती हुँदा नगद जरिवानाको प्रावधान राखिनुपर्यो । सिँधै थुन्ने होइन ।’
यी भनाइहरु लामो यात्राबाट आर्जित उनको अनुभवको सारांश हुन् । साधारण साइकलको डेलिभरीबाट व्यवसाय प्रारम्भ गरेका उनले त्यसको दुइ वर्षमै कम्पनी स्थापना गरेर २८ वर्षभन्दा लामे समयदेखि उनी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा समर्पित छन् ।
२०५८ सालमा नेपाल कुरियर सेवा संघको कार्यकारिणी समितिमा प्रवेश गरेका दुर्गाप्रसाद सुवेदी २० वर्षपछि उक्त संस्थाको अध्यक्ष समेत बने । अब आफ्नो संस्थागत र व्यवसायिक अनुभव, सीप र नेतृत्व क्षमतालाई ब्यापक बनाउँदै सम्भावनाको जागरण पैदा गराउने मूल उदेश्य बोकेर उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समति सदस्य पदमा उम्मेदवार बनेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिति
सेवा सुविधाका दृष्टिले विकट गाउँमा जन्मिएर समाजका हरेक पक्षसँग ठोक्किँदै व्यवसायिक यात्रा आरम्भ गर्नू चानचुने निर्णयले सम्भव हुने थिएन । अझ, व्यवसायिक सफलतासँगै विभिन्न सामाजिक संस्थामा समेत सफल नेतृत्व प्रदान गर्ने कुरा त झन उनको आत्मविश्वास र समपर्णको उदाहरण नै हो ।
आज दुर्गाप्रसाद सुवेदीको उपस्थिति केवल देशभित्र मात्रै सिमित छैन । विश्वका पाँच महादेशका करिब ५० भन्दा बढी देशको भ्रमण गरिसकेका उनले भारत र अमेरिकामा समेत लगानी विस्तार गरिसकेका छन् । विश्विका विभिन्न देशमा आफ्नो व्यवसाय मात्रै होइन, मुलुकको सम्भावनालाई समेत उजागर गर्न उनी तल्लिन छन् ।

एपेक्स वल्र्ड वाइड एक्सप्रेसका ग्लोबल सीईओको जिम्मेवारीमा रहेका उनी एपेक्स ग्लोबल लजिस्टिक्स प्रा.लि., एपेक्स बिजनेस होटल एयरपोर्ट, कनभिनियन्ट प्रोडक्ट प्रा.लि., हेरेन शान्ती सलोन, राजबाला ट्रेक्स एन्ड एक्सपिडिशन जस्ता विभिन्न कम्पनीहरूमा नेतृत्वदायी भूमीका निर्वाह गरिरहेका छन् ।
भिजन ग्रुप अन्तर्गत म्यानेजिङ डाइरेक्टरको रूपमा भिजन लुम्बिनी ऊर्जा कम्पनी, भिजन नेपाल लिमिटेड, बज्र इनर्जी भेन्चर प्रा.ली., भिजन टेक तथा ट्रस्ट नेपाल माइक्रो इन्स्योरेन्समा समेत उनको लगानी छ । पछिल्लो समय आइटी क्षेत्रअन्तर्गत जिनिस सोलुसनमा पनि उनले नेतृत्व प्रदान गरिरहेका छन् ।
नेपालको अपार जलशक्ति, पर्यटन, सेवा क्षेत्र, सूचना प्रविधिसहित विभिन्न क्षेत्रमा सम्भावना देखिरहेका उनी सिङ्गो प्रणालीमै जागरण ल्याउनुपर्ने जरुरुत देख्छन् । त्यसैले त उनले भन्ने गरेका छन्, ‘बिग्रियो, भत्यिको, केही छैन, सकियो भन्ने जस्ता नकारात्मक चिन्तनलाई चिर्दै सकारात्मक ऊर्जा पैदा गराउनु आजको हाम्रो पुस्ताकै कार्यभार हो, जिम्मेवारी हो ।’
अध्यात्मिक अभ्यासमा रुची, अनवरत र पूर्ण कर्ममा विश्वास, योगको दैनिक जागरण, ध्यान साधना गर्ने र गराउने कार्यमा निरन्तर लागिरहेका दुर्गा सुवेदी योगमा स्ताानकोत्तर तहको अध्ययन गरिरहेका छन् ।












