ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवद्र्धित ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाका लागि एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी सम्झौता सम्पन्न भएको छ । आयोजनामा लगानी गर्ने कन्र्सोटियम बैंकहरुमा सह–अगुवाका रुपमा सानिमा बैंक लि. रहेको छ भने प्राईम कमर्सियल बैंक लि., एन.आई.सी एशिया बैंक लि., ग्लोबल आइएमई बैंक लि. को–लिड बैंकको रुपमा रहेका छन्। त्यसैगरी, सहभागी बैंकहरुमा सिद्धार्थ बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., कृषि विकास बैंक लि., मुक्तिनाथ विकास बैंक लि. र कामना सेवा विकास बैंक लि.रहेका छन्।
कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने उक्त आयोजना अन्तर्गत तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत गृह निर्माण गरिनेछ । दैनिक ६ घण्टासम्म पिकिङ्ग अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त प्रकृतिको आयोजनाको कुल लागत रु. ७० अर्ब ७ करोड रहेको छ । कुल लागतको ७५ प्रतिशत अर्थात ५२ अर्ब ५५ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् रु. १७ अर्ब ५२ करोड स्वपुँजीबाट व्यवस्थापन गरिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत शेयरसमेत छुट्याएको छ ।
आयोजनाले मिति २०७५ भाद्र ७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ भने मिति २०८१ कार्तिक ७ मा नेपाल विद्युत प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको छ । आयोजनाको निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सञ्चालनमा आएपछि सुख्खायाममा दैनिक ६ घण्टा पिकिङ्ग क्षमतामा सञ्चालन हुने यस आयोजनाबाट कुल वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत उत्पादन हुने र सो मध्ये सुख्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १६६२.२९ गिगावाट आवर विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्वपूर्ण चरण पूरा भएको छ । उच्च माग हुने समयमा विद्युत उत्पादन गर्न सक्ने प्रकृतिको यस आयोजनाले राष्ट्रिय विद्युत प्रणालीको आपूर्तिमा थप योगदान पु¥याउने विश्वास गरिएको छ । यस आयोजनाका मुख्य प्रवद्र्धकमा स्ट्रीम इन्भेष्टमेन्ट, उर्जा इम्प्याक्ट फण्ड, रविन्स यूयसए लगायत विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरु रहेका छन्।









