Monday, September 7, 2026
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियाबीच भेटवार्ता भएको छ । महासंघ सचिवालयमा मंगलबार भएको भेटवार्तामा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार, संयुक्त राष्ट्रसंघलगायत सबै पक्षबीच परिणाममुखी सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवद्र्धन र मर्यादित रोजगारीलाई जोडेर संयुक्त राष्ट्रसंघसँग व्यवहारिक कार्यक्रम अघि बढाउन महासंघ इच्छुक रहेको बताए । अहिले नेपालको अर्थतन्त्रमा लगानी तथा व्यवसायिक विश्वास पुनःस्थापित गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्दै विकासको केन्द्रमा राखिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियाले नेपालमा निजी क्षेत्रसँग बलियो साझेदारीका लागि संयुक्त राष्ट्रसंघ सकारात्मक रहेको बताइन् । उनले नेपालका समावेशी तथा दीगो आर्थिक विकासमा संयुक्त राष्ट्रसंघ सधैं साथमा रहेको बताएकी छिन् ।

अध्यक्ष श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको र स्तरोन्नतिको समय तीन वर्ष थप गरी सन् २०२९ नोभेम्बरसम्म पुर्‍याउन माग गरेको जानकारी दिँदै स्तरोन्नतिपछिको संक्रमणलाई सहज बनाउन उत्पादन क्षमता, निर्यात प्रतिस्पर्धा, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्षमतामा संयुक्त राष्ट्रसंघको थप सहयोग आवश्यक रहेको बताएका छन् ।

आवासीय संयोजक याहियाले यस विषयमा सरकारले संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको सन्दर्भमा सम्बन्धित समितिले निर्णय गर्ने उल्लेख गर्दै त्यो समयसम्म नेपालले आफ्नो तयारी गर्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले नेपालमा युवा जनशक्ति र विभिन्न क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्न स्थिर तथा पूर्वानुमानयोग्य नीति र राष्ट्रिय संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रणनीति आवश्यक रहेकोमा जोड दिएकी छिन् । “नेपाल सम्भावना भएको देश हो । नेपालले विकासको लागि अहिले जनसाङ्खिक लाभ लिन सक्छ । तर यो अवस्था धेरै वर्ष रहँदैन । त्यसैले विप्रेषणबाट चलेको अर्थतन्त्रलाई रुपान्तरण गर्नु आजको आवश्यक्ता हो” उनले भनिन् ।

महासंघका अध्यक्ष श्रेष्ठले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, प्रविधि, सीप, बजार र सूचनाको सहज पहुँच दिलाउन विशेष कार्यक्रम आवश्यक रहेकोमा जोड दिंदै यस्ता उद्यमलाई प्रतिस्पर्धी, डिजिटल, औपचारिक र वातावरणमैत्री बनाउन संयुक्त पहल गर्न सकिने बताए ।

यसैगरी, जिम्मेवार व्यवसाय, श्रम मापदण्ड, महिला आर्थिक सशक्तीकरण, व्यवसाय तथा मानव अधिकार र समावेशी आर्थिक विकासका क्षेत्रमा महासंघले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, अन्तरराष्ट्रिय श्रम संगठन, युएन वमन जस्ता निकायहरुसँग गर्दै आएको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

विकास सहयोगलाई परम्परागत सहायता केन्द्रित मात्र नभई निजी लगानी परिचालनतर्फ समेत लैजानुपर्ने बताउँदै उनले संयुक्त राष्ट्रसंघले सरकार, निजी क्षेत्र, लगानीकर्ता, वित्तीय संस्था र विकास साझेदारलाई एउटै मञ्चमा ल्याएर लगानीयोग्य परियोजना निर्माणमा सहजीकरण गर्न सक्ने धारणा राखेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...