निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको ४४० मेगावाट क्षमताको तिला १ जलविद्युत आयोजनालाई लगानी जुटेको हो।
आयोजनामा एनएमबि बैंकको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाले गरेर कुल ४४ अर्ब ५५ करोड ऋण लगानीको लागि सम्झौता गरेका हुन् । मंगलबार कम्पनीकी अध्यक्ष सुसन कर्माचार्य र नेतृत्वकर्ता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
आयोजनामा नेतृत्वकर्ता बैंकको रुपमा एनएमबि बैंकले १० अर्ब ऋण लगानी गर्ने छ। त्यस्तै सहायक नेतृत्वकर्ता बैंकको रुपमा रहेका ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालयन बैंकले समान ७ अर्ब ऋण लगानी गर्ने छन् । त्यस्तै नबिल बैंकले ३ अर्ब, नेपाल पूर्वाधार बैंकले २ अर्ब, कृषि विकास बैंकले डेढ अर्ब, मुक्तिनाथ विकास बैंकले डेढ अर्ब, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डेढ अर्ब, शंग्रिला डेभलपमेन्ट बैंकले सवा अर्ब, एनआईसी एशिया बैंकले १ अर्ब, ज्योति विकास बैंकले १ अर्ब र आईसीएफसी फाइनान्सले ८० करोड ऋण लगानी गर्ने गरि सम्झौता भएको हो ।
कालिकोटमा निर्माण हुने यस आयोजनाको कुल क्षमता ४४० मेगावट रहेको छ । जस मध्ये नेपाल विद्युत प्राधिकरणसँग २९८.७५ मेगावाटको लागि मात्र पीपीए भएको छ। बाँकी बिजुली बेच्नको लागि कम्पनी आफैले बजार खोज्ने छ। त्यसको लागि छिटो निजी क्षेत्रलाई पनि विद्युत ब्यापारको लाईसेन्स दिन कम्पनीले आग्रह गरेको छ।
पीपीए भएको २९८ मेगावटको कुल लागत ५९.४० अर्ब रहेको छ। हाल पीपीए भएको क्षमताको लागि मात्र वित्तीय व्यवस्थापन भएको हो। पीपीए भएको कुल लागत मध्ये बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत रकम ऋण लगानी गर्ने भएका हुन् । बाँकी रकम प्रबर्दकले इक्विटीको रुपमा हाल्ने छन् ।
पुरै ४४० मेगावटको लागत भने ७० अर्ब रहेको छ। आयोजनाको मुख्य संरचनाहरु भने पुरै ४४० मेगावाटको लागि निर्माण हुनेछ ।









