पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास तथा ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको छ। आज उर्जा मन्त्रालयमा उर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा सम्झौता भएको हो।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड, चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड, र समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय स्रोत व्यवस्थापन सम्बन्धी समझदारी भएको हो।
समझदारी अनुसार बझाङ–निलेगडा–दोधारा ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन बन्ने छ । त्यसमा चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (८७ मेगावाट), र बझाङ माथिल्लो सेती (२१६ मेगावाट) को बिजुली जोडिने छ। प्रसारण लाइनको वित्तीय व्यवस्थापन, तथा सञ्चालनमा बहुपक्षीय साझेदारीबाट अघि बढ्ने मन्त्री खड्काले बताए।
मन्त्री खड्काले यो साझेदारीले ऊर्जा विकास मार्गचित्र–२०८१ मा निर्धारित लक्ष्यहरूलाई सार्थक बनाउने अपेक्षा गरेका छन्।अब प्रसारण संरचनाको अभावको बहानामा विद्युत् खेर जाने दिन समाप्त हुने दिशातर्फ अघि बढेको उनले बताए । सरकारले निजी क्षेत्रलाई पनि उत्पादन र बिक्री गर्न पाउने वातावरण बनाउने दिशामा सकारात्मक पहल गर्दै आएको मन्त्री खड्काले उल्लेख गरे। आन्तरिक खपतसँगै बढी विद्युत् निर्यात गर्न पनि सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको उनले बताए।









