‘नाडा अटो शो–२०२४’को आज चौथो दिन चलिरहेको छ । विद्युतीय सवारी साधनको बर्चश्व रहेको यसवर्षको अटो शोमा लक्जरी मात्रै होइन, प्रिमीयम लक्जरी कारमा समेत ईभीकै बाहुल्यता देखिएको छ ।
विभिन्न कम्पनीहरुले प्रदर्शनीमा राखेका करोड मूल्यभन्दा बढीका इलेक्ट्रिक कारहरुमा ‘सम्भ्रान्त’ वर्गको नजर परिरहेको छ । अत्याधुनिक प्रविधिले विशेषताहरु भरिपूर्ण बनाइएका गाडीहरुको प्रदर्शनीले सबैको ध्यान तानिरहेको छ ।
एमजी साइबरस्टर
एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसवर्षको अटो शोमा ‘एमजी साइबरस्टर’ लन्च गर्यो । २५० किलोवाट क्षमताको मोटरपावर भएको साइबरस्टरमा ७० किलोवाटको ब्याट्री प्याक उपलब्ध छ ।
सिंगल चार्जमा ५०८ किमी रेन्ज दिने यो गाडीको लम्बाई ४ हजार ३३५ एमएम छ । यो कारको मूल्य १ करोड ६८ लाख रुपैयाँ पर्छ । अटो शो सुरु भएकै दिन एमजी साइबरस्टर ‘सोल्ड आउट’ भइसकेको छ । कम्पनीमा सुरुवातमा २ युनिट गाडी ल्याएको थियो ।
स्काईवेल ईटी–५
स्काईवेल गाडीको नेपालको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्सले नाडा अटो शो सुरु हुनुभन्दा अगाडी नै सार्वजनिक गरेको ‘स्काईवेल ईटी–५’लाई अटो शोमा पनि राखेको छ ।
एक पटकको फूल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेल ईटी–५ को मूल्य १ करोड १० लाख रुपैयाँ छ । यसमा ८६ किलोवाट क्षमताको ब्याट्री प्याक छ ।
अवतार ११
सिजी मोटर्स र एमएडब्लु वृद्धिले संयुक्त रुपमा भित्र्याएको प्रिमियम कार हो ‘अवतार ११’ । अटो शोमा राखिएको यो गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ । नाडामा १० लाख रुपैयाँ छुटको अफर दिइएको छ । यो कारले ६५० किमीसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
आयोनिक ५
लक्ष्मी हुण्डाईले यसवर्ष पनि आयोनिक ५ लाई नै अटो शोमा राखेको छ । यसवर्षको अटो शोमा क्रेटालाई ‘हाइलाइट्स’ गरेको लक्ष्मी हुण्डाईले गत वर्ष नै अटो शोमा राखेको आयोनिक ५ लाई यसवर्ष पनि निरन्तरता दिएको हो ।
१ करोड ३ लाख ९६ हजार रुपैयाँ छ । यसले एक पटकको चार्जमा ३७५ किलोमिटर रेन्ज दिने बताइएको छ ।
ईभी–९
किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले नाडा अटो शोमा ईभी–९ लाई प्रदर्शनीमा राखेको छ । फुल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो गाडीको मूल्य १ करोड ८० लाख रुपैयाँ पर्छ ।
अटो शोमा राखिएका ईभी सेग्मेन्टमध्ये ईभी–९ सबैभन्दा महँगो कार हो ।
जिकर एक्स
जिकरको फोर ह्वील अप्सनको ईभी नाडा अटो शोमा प्रदर्शनीमा छ । १ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने यो गाडीमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
४४० किमी रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री जडान भएको छ । यसले २२ किलोवाटको एसी चार्जरसमेत सपोर्ट गर्ने र एसी चार्जरबाट नै ४ घण्टामा गाडी फुल चार्ज हुने बताइएको छ । यसले डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।
ग्राण्ड भितारा
सिजी मोटोकर्पले नेपालमा भित्र्याएको लक्जरी बहुप्रतिक्षित गाडी हो ‘ग्राण्ड भितारा’ । यसमा अल्फा प्लस (मनो टुन) इ सिभिटीको मूल्य १ करोड ९९ हजार रुपैयाँ पर्छ । अल्फा प्लस (डुयल टुन) इसिभिटीको २ करोड १२ लाख ९ हजार रुपैयाँ पर्छ ।
बिवाईडी सिलियन–७
बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले अटो शोमा सिलियन–७ गाडी सार्वजनिक गरेको छ । चीनबाहिर पहिलो पटक नेपालमा सार्वजनिक भएको यो गाडीको मूल्य भने कम्पनीले तोकेको छैन । अहिले सार्वजनिक मात्रै गरिएको र तत्काल बिक्री नहुने भएकाले कम्पनीले यसको मूल्य नतोकेको हो । यसको मूल्य पनि करोड हाराहारी पर्ने बताईएको छ ।