नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भोली मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपालमा उपलब्ध तथा नेपाली बजारमा प्रवेश गर्न लागेका विभिन्न सवारीसाधन ब्राण्ड तथा मोडलहरुको उपस्थिति रहनेछ ।
नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको हिस्सा तीव्र रूपमा बढिरहेका बेला आयोजना हुन लागेको यसपटकको एक्स्पोलाई व्यवसायीहरूले नयाँ पुस्ताको मोबिलिटी प्रविधि बुझ्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । विशेषगरी विभिन्न ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेकाले एक्स्पोमा उपभोक्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । आयोजक नाइमाले यसवर्ष करिब १ लाख ५० हजार अवलोकनकर्ताले एक्स्पोमा सहभागीता जनाउने अपेक्षा गरिएको बताएको छ ।
एक्स्पोमा विद्युतीय सवारीसाधनसहित यसवर्ष हाइब्रिड कारको पनि मजबुत उपस्थिति देखिनेछ । सानो आकारका सहरी विद्युतीय गाडीदेखि पारिवारिक एसयूभी, व्यावसायिक सवारीसाधन र दुई पाङग्रेसम्म एक्स्पोमा देख्न पाइनेछ । यसले नेपाली उपभोक्तालाई एउटै स्थानमा विभिन्न ब्रान्ड र प्रविधिका सवारीसाधन तुलना गर्ने अवसर दिनेछ ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दै जाँदा अटोमोबाइल कम्पनीहरूबीच नयाँ मोडल, बढी रेन्ज, सुरक्षा प्रविधि र प्रतिस्पर्धी मूल्यका आधारमा बजार विस्तार गर्ने होडबाजी चलिरहेको छ । नाइमा एक्स्पोमा पनि यस्तै प्रतिस्पर्धा देखिनेछ ।
यसवर्ष ५५ ब्राण्डले सहभागीता जनाउँदैछन् । साथै, ४० भन्दा बढी नयाँ लन्च (ब्राण्ड तथा मोडल) हुने नाइमाले जनाएको छ ।
नाइमाले गाडी तथा दुइ पाङ्ग्रेको प्रदर्शनी मात्रै नभई हरेक दिन लर्निङ सेसन र पोलिसी डायलग पनि चलाउनेछ ।









