चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ । चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्राण्डका रुपमा परिचित उक्त ब्रान्डलाई एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल भित्र्याएको हो ।
नेपाली बजारमा विद्युतीय सवारी साधनको माग तथा बिक्री उल्लेख्य रुपमा बढ्दै गएसँगै नयाँ ब्रान्ड आउने क्रममा विश्वकै शक्तिशाली चिनियाँ राष्ट्रपति सि जिङ पिङले चढ्ने कार ब्राण्ड ‘हङ्सी’ पनि नेपाल भित्रिएको हो ।
चिनियाँ भाषामा हङ्सीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ । उक्त कार चिनियाँ राष्ट्रपतिले प्रयोग गर्दै आएको ब्राण्ड हो । हङ्सी ब्रान्डका विद्युतीय एसयूभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रुपमा लन्च हुनेछ भने उक्त एक्स्पोमा समेत प्रदर्शनीमा राखिने छ ।
चिनियाँ सवारी उत्पादक कम्पनी एफएडब्लू ग्रुप सरकारी स्वामित्वको ग्रुप हो । उक्त ग्रुपले ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको छ भने हङ्सी ब्रान्डमार्फत प्रिमियम कार उत्पादन हुँदै आएको छ । एडभान्स्ड अटोमोबाइलले केही समयअघि हङ्सी ब्रान्डसँग आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो । सम्झौतासँगै एडभान्स्ड अटोमोबाइलले नाइमा एक्स्पोमा राख्नका लागि हङ्सीका विद्युतीय कार आयात प्रक्रियासमेत सुरु गरिसकेको छ ।
एडभान्स्ड अटोमोबाइलले हङ्सीका विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने छ । हङ्सीले आईसी इन्जिन, हाइब्रिड र बीईभी गरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ । एडभान्स्ड अटोमोबाइलले यसअघि फ्रेन्च ब्रान्ड रेनोका सवारी भित्र्याएर बिक्री गर्दै आएको छ ।
कम्पनीले सुरुवाती चरणमा हङ्सी ब्रान्डका एक वा दुई मोडलका विद्युतीय कार ल्याउने तयारी गरेको छ । हङ्सीको विद्युतीय एसयूभीमा कुन क्षमताको ब्याट्री र मोटरमा आउने भन्ने कुरा खुलेको छैन । नेपाल आउने हङ्सीको विद्युतीय एसयूभीको मूल्य भने ६० देखि ६५ लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ ।
हङ्सी ब्रान्डअन्तर्गत ४ वटा विद्युतीय सवारी मोडल उपलब्ध रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । जसअनुसार ई एचएस ९ एसयूभी, ई क्यूएम ५ र ईएच७ सेडान तथा ई एचएस ७ एसयूभी रहेको छ । यी मध्य सुरुमा ई एचएस ९ र ई एचएस ४ मोडल नेपाल आउने भएका छन् ।
‘कम्युनिष्ट विरासत’देखि ग्लोबल ईभी बजारसम्म
कुनै समय केवल चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता र विदेशी राष्ट्रप्रमुखको स्वागतमा मात्र सिमित रहने हङ्सी कार आज विश्वकै तीव्र गतिमा विस्तारित लक्जरी र इलेक्ट्रिक सवारी ब्रान्डमध्ये एक बनेको छ । चिनियाँ भाषामा रातो झण्डा अर्थ लाग्ने यो ब्रान्डले आफ्नो ६ दशक लामो इतिहासमा राजनीतिक शक्तिको प्रतीकदेखि व्यावसायिक बजारको नेतृत्वसम्मको यात्रा तय गरेको छ ।
हङ्सीको स्थापना १ अगस्ट १९५८ मा चीनको पहिलो अटोमोबाइल उत्पादक कम्पनी (एफएडब्लू) द्वारा भएको हो । यसलाई चीनको सबैभन्दा पुरानो कार ब्रान्ड मध्यको एक मानिन्छ ।
तत्कालिन चिनियाँ नेता माओत्सेतुङले चीनको आफ्नै अन्तर्राष्ट्रिय स्तरको लक्जरी कार हुनुपर्ने इच्छा व्यक्त गरेपछि यसको निर्माण सुरु भएको थियो । यसको पहिलो मोडेल ‘हङ्सी सीए७२’ थियो । यसको अगाडिको ग्रिल चिनियाँ परम्परागत हाते पंखाको बुट्टाबाट प्रेरित छ, त्यो हङ्सीको मुख्य पहिचान हो ।
सन् १९६० र ७० को दशकमा यो गाडी विशिष्ट चिनियाँ अधिकारी र चीन भ्रमणमा आउने उच्च विदेशी अधिकारीहरु आउँदा प्रयोग हुने गरेको थियो । हङ्सी पूर्ण रूपमा चिनियाँ सरकारको स्वामित्वमा रहेको ब्रान्ड हो । यसको व्यवस्थापन रणनीतिलगायत बनाउने काम चीनको सरकारी स्वामित्वको अटोमोटिभ जायन्ट एफएडब्लू ग्रुपले गर्दै आएको छ । हङ्सीको सम्पूर्ण अनुसन्धान र विकास तथा प्रविधिमा एफएडब्लूले सिँधै लगानी गर्छ ।
सन् २०१८ भन्दा अघिसम्म हङ्सी मुख्य रूपमा सरकारी खरिदमा बढी निर्भर थियो । यसपछि भने कम्पनीले नयाँ हङ्सी रणनीति ल्याएपछि व्यवसायिक र निजी ग्राहकहरूलाई पनि गाडी सहज रुपमा बिक्री गर्दै आएको छ । २०२५ को तथ्यांक अनुसार हङ्सीले घरेलु र विश्व बजारमा ४ लाख ६० हजार वटाभन्दा बढी कार बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतको वृद्धि हो ।
आईसी इन्जिन कार बनाउँदै आएको हङ्सीले केही वर्षयता विद्युतीय कार उत्पादनमा केन्द्रित हुन थालेको छ । गत वर्षको हङ्सीको कुल बिक्रीमध्ये करिब १ लाख ४९ हजार कार न्यु इनर्जी भेहिकल रहेका छन् ।
चीनको प्रिमियम र लक्जरी सेगमेन्टमा हङ्सीले जर्मन स्थापित ब्रान्डहरू बीएमडब्लू, मर्सिडिजलगायतसँग कडा प्रतिस्पर्धा गरिरहेको छ । सरकारी र कर्पोरेट क्षेत्रमा भने हङ्सीको बजार हिस्सा निकै बलियो छ ।
हङसीले आफ्ना कार चीनमा मात्र सीमित नराखेर विश्वव्यापी रूपमा प्रिमियम र विशेष गरी ‘लक्जरी इलेक्ट्रिक ब्रान्ड’का रूपमा स्थापित गरिरहेको छ । हालसम्म यो ब्रान्ड युरोप, मध्यपूर्व र दक्षिणपूर्वी एसियाका प्रमुख बजारहरूमा बलियो रूपमा निर्यात भइरहेको छ । हङ्सीले नर्वे, नेदरल्याण्ड्स, बेल्जियम र पोल्याण्डजस्ता देशहरूबाट युरोपमा आफ्नो यात्रा सुरु गरेको थियो ।
हङ्सीको फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी हङसी ई एचएस९ युरोपमा निकै लोकप्रिय छ । यो कारलाई रोल्स रोयस जस्तै देखिने लुक्सका कारण ‘चिनियाँ रोल्स रोयस’ पनि भन्ने गरिन्छ ।
सन् २०२८ सम्ममा युरोपका २५ वटा देशमा १५ वटा नयाँ इलेक्ट्रिक र हाइब्रिड मोडेलहरू सार्वजनिक गर्ने र २०० भन्दा बढी डिलर नेटवर्क बनाउने योजना अनुसार काम गरिरहेको जनाएको छ ।









