Friday, April 17, 2026
spot_img
spot_img

बाटोमै झिकिन्छन् आयात गरिएका नयाँ गाडीका पार्टपुर्जा, ठगिँदै उपभोक्ता

spot_img
spot_img

रसुवागढी भन्सार कार्यालयको वरीपरी गाडीहरु (कारसमेत) असरल्ल छोडिएका छन् । विभिन्न कम्पनीहरुले मगाएका गाडीहरु भन्सार कार्यालयको परिसर, सडक छेउ र चउरमा जथाभावी राखिएका छन् । यसरी राख्दा गाडीहरु राखेकै अवस्थामा थोत्रिन समेत थालेका छन् ।

कतिपय गाडीका विभिन्न पार्टस् पनि झिकिएका छन् । टायर लगायतका सजिलै झिक्न सकिने पार्टसहरु झिकिएको अवस्थामा रहेका गाडीहरु माटो, झाडी र घारीमा पुरिन लागेका छन् । व्यवसायीहरुले भन्सारसम्म ल्याएका गाडीहरु उतै छोड्ने र अर्डर आएपछि बल्ल त्यहीँ गाडी जाँचपास गराएर छुटाउने गरेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतम बताउँछन् ।

‘कम्पनीले नै पार्ट झिक्छन्’

विभिन्न ब्राण्डका लक्जरी कारहरु अहिले रसुवागढी भन्सार परिसरमा थोत्रिएको अवस्थामा देख्न सकिन्छ । झार उम्रिएर गाडीलाई ढाकिसकेको छ भने कतिपय गाडीको स्टेरिङमा समेत झ्याउ र उम्रिएको छ । केही गाडीको बाहिरी स्वरुप ‘स्क्रयाच’ भएर रुप–रङ्गसमेत उडिसकेको छ ।

कतिपय गाडीका टायर र बम्परसमेत झिकिएका छन् । कम्पनीहरुले नै टायर र अरु पार्टस्हरु झिकेर लैजाने गरेको भन्सार कार्यालयका अधिकारीहरु बताउँछन् । गाडी ल्याउँदा नै टायर पन्चर हुने र अरु पार्टसहरु पनि बिग्रिएको हुन सक्ने र भन्सारमा लामो समय कुनै सुरक्षा बिना नै राखिँदा झन गाडीहरु थोत्रिने गरेकाले अर्डर आएपछि कम्पनीहरुले एउटा गाडीको पार्टस् झिकेर अर्को गाडीमा फिट गराएर लैजाने गरेको भन्सार कार्यालयका सूचना अधिकारी गौतम बताउँछन् ।

‘नयाँ गाडीको पार्टस् झिकेर लैजान नमिल्ने हो, तर भन्सारमा सम्बन्धित पार्टीले घोषणा नगरेसम्म हामीलाई पनि कुन गाडी कसले ल्याएको हो भन्ने थाहा हुँदैन’ उनले भने, ‘काठमाडौँमा वा अन्तबाट गाडी बुक भएपछि लिन आउँछन्, जाँचपास गराउँदा अर्को गाडीका पार्टस् हालेर ठिकठाक नै देखाएका हुन्छन् ।’

स्काईवेल र डोङफेङ जस्ता गाडीहरु अहिले झरले ढाकेको अवस्थामा र टायर झिकेर राखिएको अवस्थामा यत्रतत्र राखिएका छन् । ति गाडीका बिक्रेता तथा आयातकर्ता कम्पनीहरुले काठमाडौँ वा अन्य शहरमा बिक्री भइसकेका गाडीका लागि पार्टस् चाहियो भने पनि भन्सारमा थन्किएका गाडीबाटै झिकेर ल्याउने गरेको भन्सार स्रोत बताउँछ ।

‘अब थोरै थोरै पार्टस् चाहिँदा चीनबाट आयात गर्न सक्दैनन्, उताबाट एउटा कम्पनीको एक थरी पार्टस् मात्रै आयात गर्न पनि गाह्रो छ । खर्च पनि लाग्ने होला’ भन्सारका एक अधिकारीले भने, ‘त्यहीँ भएर यसो ४/५ वटा पार्टस् माग हुँदा भन्सारमा थन्किएका गाडीबाट झिकेर लैजान्छन् । नियम अनुसार यसो गर्न मिल्दैन ।’

भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतम भने गाडी ल्याएर राखेकै भरमा कसले ल्याएको हो, कति ल्याएको हो भन्ने आफूहरुलाई थाहा नहुने र बाटोमा राखिएका गाडीहरुको विषयमा भन्सार कार्यालयलाई जानकारी समेत नहुने बताउँछन् । ‘जाँचपास गराउन ल्याएपछि मात्रै हामीले हेर्ने हो, भन्सारमा उसले घोषणाका लागि गाडी लिएर आएपछि मात्रै हामीले हेर्ने हो’ उनी भन्छन्, ‘अरु बेला कहाँ राखेको थियो, के के पार्टस् झिकिएको थियो भन्ने हामीलाई थाहा हुँदैन ।’

गोदाम नहुँदा बाटो बाटोमै राखिन्छन् गाडी

रसुवा भन्सार कार्यालयको गोदाम छैन । बाढीले क्षति गरेपछि भन्सार यार्ड पनि पर्याप्त छैन । जसका कारण चीनबाट आयात गरिएका गाडीहरु व्यवसायीहरु आफैँले बाटो बाटोमै राख्ने गरेका छन् । त्यसरी जथाभावी राखिएका गाडीहरु आफूहरुले समेत हटाउ भन्न सक्ने अवस्था नरहेको भन्सार कार्यालयका अधिकारीहरुको भनाइ छ ।

‘गाडी ल्याउने पार्टीहरुले आफ्नो व्यवस्थापन आफैँ गरेका छन् । बाटो अफरोड हुनाले यहाँ (रसुवा भन्सार)सम्म आइपुग्दै टायर पन्चर हुने, पार्टस्हरु बिग्रिने भइसक्छन्’ ति अधिकारी भन्छन्, ‘झन बाटो बाटोमै राखिँदा स्क्रयाच हुने, उपकरणहरु ड्यामेज हुने जस्ता समस्या पनि आउँछन् । तर, जाँचपास गराउन ल्याउँदा मर्मत गरेर मात्रै ल्याउँछन्, फिट नै बनाएर ल्याउँछन् ।’

उपभोक्ता ठगिँदै

भन्सारमा ल्याएर थन्क्याइएका गाडीका पार्टस् झिकेर व्यवसायीहरुले बिक्री गर्दा नयाँ गाडी किन्ने ग्राहक भने मारमा पर्ने देखिएको छ । नयाँ गाडी अर्डर गर्ने ग्राहकलाई पार्टस् झिकिएकै गाडी मर्मत गरेर दिइँदा उपभोक्ताहरु मर्कामा पर्ने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव वरिष्ठ अधिवक्ता विष्णु प्रसाद तिमल्सिनाले सग्लो गाडीबाट पार्टस् झिकेर ल्याउने र ल्याइएको विषयलाई दुइ कोणबाट अनुसन्धान गर्नुपर्ने बताउँछन् । पहिलोः उपभोक्ता अधिकार र दोस्रोः आर्थिक अपराध ।

‘ओरिजिनल’ वस्तुबाट त्यसमा जडान भएका पार्टस्हरु झिकिँदा वस्तुको गुणस्तरमै ह्रास आउने र पछि हातले पार्टस् पुर्जा जडान गरिएका वस्तुहरुलाई नयाँ भनेर बिक्री गरिँदा उपभोक्ता अधिकारको हनन् हुने उनको भनाइ छ । ‘पार्टस् झिक्दा गाडीको क्वालिटीमै समस्या आउँछ, मेशिनले जडान गरेका पार्टस्हरु हातले झिक्ने र पछि फेरि हातले नै जडान गरिँदा गाडीको क्वालिटीमै ह्रास आउने भइहाल्यो’ उनी भन्छन्, ‘गाडीको वारेन्टी र ग्यारेन्टीमा प्रबलम आउँछ । यसले उपभोक्तालाई गम्भीर असर गर्छ ।’

दोस्रो कुरा, यो विषय आर्थिक अपराधसँग पनि जोडिने महासचिव तिमल्सिनाको भनाइ छ । त्यसरी निकालिएका पार्टस् भन्सार कार्यालयको जानकारी बिना नै आउने भएकाले भन्सार छलीमा समेत अनुसन्धान हुनुपर्ने उनी बताउँछन् ।

‘सामान निकालेर ल्याउँदा त्यसको एलसी हुँदैन, भन्सार कार्यालयको जानकारी बिना ल्याउने भएकाले त्यसको कुनै कर तिरिएको हुँदैन’ उनले थपे, ‘यो गम्भीर आर्थिक अपराधसँग पनि जोडिन्छ । यसमा सरकार, भन्सार विभाग र अरु अनुसन्धानकारी निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’

साथै, पहिल्यै सामान झिकेर पछि पार्टस् पुर्जा जोडेर आयात भएका गाडीहरु कमसल हुने भएकाले यसबाट चिनियाँ कम्पनी, ब्राण्ड र उत्पादककै छवी समेत बिग्रने जोखिम हुने उनको भनाइ छ ।

तर, त्यसरी गाडी असरल्ल छोड्ने र गाडीका पार्टस् पनि झिकिएको देखेपछि हामीले स्काईवेल गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलाललाई यसबारे जिज्ञासा राख्न सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उच्च शिक्षामा लगानी बढाउन दबाब दिँदै विद्यार्थीले सुरु गरे ‘भिक्षा देही’ अभियान

काठमाडौँस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले सरकारलाई उच्च शिक्षामा लगानी बढाउन...

अब राजस्व बुझाएको २४ घण्टामै लाइसेन्स पाइने, आजदेखि लागू

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती...

टक्सार पिखुवा खोला हाइड्रोको पहिलो चरणको आईपीओ बाँडफाँड, कसले कति पाए ?

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको...

तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला...

नेप्सेको इन्फर्मेशन सिस्टमको अडिटको जिम्मा आर.एस.एम अल्फालाई

नेपाल स्टक एक्सचेन्ज नेप्सेको इन्फर्मेशन सिस्टमको अडिट कार्यको जिम्मा...
spot_img