सवारी साधनमा ‘यूरो ३’ मापदण्ड लागू भएको १३ वर्षपछि सरकारले ‘यूरो ६’मा ‘जम्प’ गरेको छ । वन तथा वातावरण मन्त्रालयले असार ९ गते ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी साधनमा ‘यूरो ६’ मापदण्ड लागू भएको हो ।
राजपत्रमा प्रकाशित नयाँ सवारी मापदण्डअनुसार अब दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा यूरो–५ मापदण्ड लागू भएको छ । चार पाङ्ग्रेको हकमा भने यूरो–६ मापदण्ड लागू भएको छ । त्यसो त, आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममा सवारी साधनमा यूरो ६ मापदण्ड कार्यान्वयन गरिने भनिएको थियो । सोही अनुसार वन मन्त्रालयले हालै नयाँ मापदण्ड जारी गरेको हो ।
नेपालमा २०६९ सालयता यूरो–३ मापदण्ड लागू छ । त्यतिबेला यूरो ३ मापदण्ड कार्यान्वयनमा ल्याउँदा नै २ वर्षपछि अर्थात् २०७१ सालबाट यूरो–४ मा जाने भनिएको थियो । तर, यूरो ४ मापदण्ड लागू हुन सकेको थिएन । अहिले एकैपटक यूरो ६ लाई कार्यान्वयनमा ल्याइएको हो ।

यसअनुसार, अब न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो–६ मापदण्ड लागु भएको छ । साना चार पाङ्ग्रेमा भने चालक बाहेक ८ यात्रु सिट क्षमता भएका र ८ सिटभन्दा बढी क्षमताका मझौला यात्रुबाहक सवारी र ठूला यात्रुबाहक सबैखाले सवारी साधनमा यूरो ६ मापदण्ड अनुरुप प्रदूषण जाँच हुनेछ ।
इन्धन आयातमा पनि ध्यान दिइनुपर्ने
युरोपेली युनियनले सन् २०१४ देखि यूरो ६ मापदण्ड लागू गरेको थियो । छिमेकी देश भारतमा सन् २०२० को अप्रिलदेखि यूरो ६ मापदण्ड सरहको बिएस ६ मापदण्ड लागू छ ।
नेपाल पेट्रोलियम पदार्थमा भारतसँग पूर्णतया निर्भर छ । यस्तो अवस्थामा इन्धनको आपूर्ति पनि यूरो ६ मापदण्ड अनुसारको हुनुपर्नेछ । यूरो ६ मापदण्ड आधुनिक र प्रदुषण कम गर्ने इन्धन मापदण्ड हो । यूरो ४ मादण्ड अनुसार इन्धनमा सल्फरको मात्र ५० पिपीएम हुने गरेको छ । तर, यूरो ६ मापदण्डअनुसार इन्धनमा सल्फलको मात्रा केवल १० पिपीएम मात्र हुनुपर्ने प्रावधान छ । यसकारण यूरो ६ अनुसारको इन्धनबाट प्रदूषण कम गर्ने र विषाक्त धुँवा पनि निकै न्यून मात्रामा निस्कने भएकाले विश्वका अधिकांश देशले यूरो ६ मापदण्ड कार्यान्वयनमा ल्याइसकेका छन् ।
नेपालमा इन्धन भारतबाटै आयात हुने भएकाले नेपालमा इन्धनको आपूर्ति गर्दै आएको नेपाल आयल निगमले आफूलाई त्यस अनुसार तयार गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् । नेपाल आयल निगमका अधिकारीहरु भने अहिले पनि यूरो ६ मापदण्ड अनुरुपकै इन्धन आयात भइरहेको दाबी गर्छन् ।
‘यूरो ४ र यूरो ६ मा सल्फरको मात्रा मात्रै फरक छ, अरु सबै चिज एउटै छ’ निगमका एक अधिकारीले भने, ‘यूरो ४ मा सल्फरको मात्रा ५० पीपीएमसम्म हुन्थ्यो, अहिले यूरो ६ मा सल्फरको मात्रा १० पीपीएम भन्दा बढी हुनु हुँदैन । इन्डियामा भएका सबै रिफाइनरीहरुले अहिले यूरो ६ कै मापदण्ड अनुसार तेल उत्पादन गर्ने भएकाले हामीकहाँ आउने तेल पनि सबै यूरो ६ मापदण्ड अनुसारकै आइरहेको छ ।’
गाडीको मूल्यमा फरक पर्छ ?
पेट्रोल गाडीमा यूरो ६ मापदण्ड लागू भएपछि गाडीको मूल्यसमेत बढ्ने व्यवसायीहरुको भनाइ छ । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले केही हदसम्म मूल्य बढ्ने भएपनि अहिले नेपालका आयातकर्ता कम्पनीहरु उत्पादकसँग छलफलमा रहेको संकेत गरेका छन् ।
यता, नाडाका निवर्तमान अध्यक्ष ध्रुब थापाका अनुसार भने यूरो ६ मापदण्डले व्यवसायिक सवारी साधनको मूल्य २० प्रतिशतसम्म बढ्न सक्छ । उनका अनुसार जीप र कार सेग्मेन्टमा आयात हुने गाडीको मूल्य तत्कालै १५ देखि २० प्रतिशतसम्म बढ्न सक्नेछ ।
तर, यात्रुबाहक बस र ढुवानीका साधनमा भने ३० प्रतिशतभन्दा बढी मूल्य बढ्ने व्यवसायीहरुको भनाइ छ । तर, नेपालमा नयाँ निजी सवारीको आयातमा ८० प्रतिशत हाराहारी हिस्सा विद्युतीय सवारीले ओगट्न थालिसकेकाले यूरो ६ ले अझ यसतर्फ प्रोत्साहन गर्ने कतिपयको विश्वास छ ।













