अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालभित्रको विवाद स्पष्टिकरण सोध्ने र बुझाउनेसम्म पुगेको छ । केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले पत्रकार सम्मेलन गरेर अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको र साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई विधान विपरित सदस्यमा झारिदिएको विषयमा आपत्ति जनाएका थिए ।
उनीहरुले अध्यक्षले मनोमानी गर्न नछोडे अविश्वासको प्रस्ताव ल्याउने, विशेष साधारणसभा माग गर्ने र अध्यक्षले बहुमत सदस्यको माग बमोजिम काम नगरे कालोमासो दल्ने सम्मको चेतावनी दिएका थिए ।
त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टिकरण सोधे । महासचिव सुरेन्द्र कुमार उप्रेतीमार्फत असार ३ गते सोधिएको स्पष्टिकरणमा चारै जनालाई लिखित स्पष्टिकरण पेश गर्न भनिएको थियो । उनीहरुलाई सात दिनभित्र लिखित प्रष्टिकरण पेश गर्न भनिएको थियो ।

त्यसपछि असार ९ गते चारै जनाले स्पष्टिकरण बुझाएका छन् । गोल्छा, रिजाल, प्रधान र खेतानले स्पष्टिकरण बुझाउँदै उल्टै प्रश्न गरेका छन् । जवाफमा उनीहरुले नाडाको विधान नै अध्ययन नगरी आफूहरुलाई स्पष्टिकरण सोधिएको भन्दै उल्टै विधानको उलङ्घन गरेको कसुरमा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
कार्यसमिति बैठक बिना नै अधिकार क्षेत्रभन्दा बाहिर गएर स्पष्टिकरण सोधिएको भन्दै उनीहरुले त्यसको कुनै औचित्य नरहेको समेत दाबी गरेका छन् । ‘यसरी स्पष्ट रुपमा विधानको उलङ्घन गर्दै गरिएको कार्यका लागि तपाई स्वयम् माथि नै कारबाहीका लागि हामीले कार्यसमितिमा प्रस्ताव किन नलाने ?’ जवाफमा महासचिवलाई उल्टै प्रतिप्रश्न गरिएको छ ।

यसअघि नाडाले सोधेको स्पष्टिकरणमा गोल्छा र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने र प्रधान र खेतानलाई ६ महिनाका लागि निलम्बन गर्ने चेतावनी दिइएको थियो ।