मनाङस्थित ३५१९ मिटर उचाईबाट सानदार रुपमा सार्वजनिक भएको म्याक्ससको ‘ई टेरोन–९’ इलेक्ट्रिक पीकअपको बुकिङ धमाधम भइरहेको छ । नेपालका लागि म्याक्सस ‘ई टेरोन–९’ इलेक्ट्रिक पीकअपको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्स प्रा.लि.ले अहिले बुकिङ लिइरहेको हो ।
सुरुमा ६ युनिट गाडी ल्याएको हिमालयन मोट्रक्सले २ युनिट ई टेरोन–९ ग्राहकलाई डेलिभरी दिइसकेको छ । कम्पनीका सञ्चालक सौरभ थापाका अनुसार अहिले बुकिङसहित टेस्ट ड्राइभ भइरहेको छ । कम्पनीले पहिलो चरणमा ल्याएका ६ वटा मध्ये ४ वटा गाडीबाट टेस्ट ड्राइभ गराउने काम भइरहेको उनको भनाइ छ ।
थापाका अनुसार अर्को चरणमा बजेट लगत्तै ई टेरोन–९ ईभी पीकअप नेपाल ल्याइनेछ । ‘अब अर्को चरणका गाडीहरु बजेट पछि नै आउने छन्’ उनले भने, ‘अहिले बुकिङ पनि लिइरहेका छौँ, टेस्ट ड्राइभ पनि गराइरहेका छौँ ।’
कम्पनीका अनुसार नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्वील म्याक्सस ई–टेरोन ९ पीकअप सार्वजनिक भएको थियो । पीकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको थियो ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पीकअप सार्वजनिक गरेको हो । यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको कम्पनीको विश्वास छ ।
म्याक्सस इ–टेरोन ९ पीकअपलाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । यसबाट नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
एग्रेसिभ लुक भएको यो पीकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ । म्याक्ससको इलेक्ट्रीक पीकअपमा सेग्मेन्टकै ठूलो साइजको ब्याट्री प्याक छ । डब्लूएलटीपीले प्रमाणित गरे अनुसार १०२ किलोवाट आवर क्षमताको ब्याट्री भएको यस पीकअपले एकपटकको फुल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिनेछ ।
यसमा २६० एमएम ग्राउण्ड क्लियरेन्स छ । सिटी एरियामा चलाउँदा २३० एमएम ग्राउण्ड क्लियरेन्स राखेर पनि चलाउन सकिने छ ।
फोर ह्वील ड्राइभ अप्सनमा आएको यस पीकअपको अगाडि १२५ र रियरमा २०० किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर भने ३२५ किलोवाट रहेको छ ।
अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड र भेन्टीलेटेड फ्रन्ट एण्ड रियर सिट, मसाज ड्राइभिङ जस्ता विशेषता भएको यो गाडीमा पानारोमिक सनरुफ लगायतका फिचर्स पनि छन् ।
फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ, लेन डिपार्चर वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, ७ वटा एयरब्याग, जस्ता फिचर्सले भरिपूर्ण यस एटेरन–९ ले युरो एनक्याप क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ ।
कम्पनीले २ लाख किलोमिटर र ८ वर्षको वारेन्टी दिएको छ । सामान्यतया, १ लाख ५० हजार किलोमिटरको मात्रै वारेन्टी दिइने गरिएपनि हिमालयन मोट्रक्सले भने २ लाख किलोमिटरको वारेन्टी दिएको छ । साथै, मोटरमा पनि ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।













