अहिले नेपालमा केही दुइ पाङ्ग्रे र एउटा चार पाङ्ग्रे सवारीको एसेम्बल उद्योग सञ्चालनमा छ । बजाज मोटरसाइकल नेपालमै एसेम्बल हुन्छ भने लक्ष्मी ग्रुपले पनि क्रेटा र भेन्यू गाडी स्वदेशमै एसेम्बल गर्दै आएको छ ।
डिजेल र पेट्रोलमा बढ्दो परनिर्भरता न्यूनीकरण गर्न सरकारले अहिले विद्युतीय सवारी साधन (ईभी)लाई पनि प्रोत्साहन गरिरहेको छ । ईभीलाई प्रोत्साहन गर्दा पनि पेट्रोलियम पदार्थको खपतमा खासै कमी आएको देखिँदैन । कुल १६ खर्ब हाराहारीको वस्तु तथा सेवा आयात हुँदा जम्माजम्मी १.५ खर्बको मात्रै निर्यात छ । आर्थिक वर्ष २०८०/०८१ को भन्सारको तथ्याङ्क अनुसार डिजेल र पेट्रोलको आयात मात्रै २ खर्ब १२ अर्बभन्दा माथिको छ । यसमध्ये पेट्रोलको हिस्सा ६८ अर्ब १० करोड छ । चालु आर्थिक वर्षको फागुन सम्मको तथ्याङ्क अनुसार ४२ अर्ब ८० करोड १७ लाख बराबरको पेट्रोल आयात भइसकेको छ ।
जबकी, वर्षभरीमा जम्मा ३५ अर्बका मात्रै चार पाङ्ग्रे सवारी भित्रिने गरेका छन् । पछिल्लो समय यसमध्ये ईभीको हिस्सा ७० प्रतिशतभन्दा माथि देखिएको छ । तर, पेट्रोलियम पदार्थको खपतमा ईभीले खासै ठूलो भूमीका निर्वाह गर्न सकेका छैनन् । यद्यपी, वातावरणीय प्रदूषण न्यूनीकरणमा भने ईभीको योगदान सकारात्मक रहँदै आएको छ ।
यसअर्थ, अब सरकारले ईभीलाई प्रोत्साहन सँगसँगै आईसी इन्जिनवाला गाडीकै भएपनि एसेम्बल उद्योगलाई पनि प्रोत्साहन गर्नुपर्ने अटोमोबाइल्स क्षेत्रका जानकार बताउँछन् । पेट्रोलको खपत न्यूनीकरण गराउँदै लैजानका लागि ईभीको प्रोत्साहन गर्नु सकारात्मक भएपनि चार पाङ्ग्रे सवारीमा बाहिरिँदै आएको मुद्राको बचतका लागि पनि सरकारले सोच्नुपर्ने जानकारहरु बताउँछन् ।
‘अटोमोबाइल्स क्षेत्रमा विगतमा सरकारले २ रुपैयाँ लगानी गर्दा ८ रुपैयाँसम्म आम्दानी गर्दै आएको थियो, अहिले लगानी बढेर ४ रुपैयाँ (प्रतिशत) पुगेको छ, त्यसबापत राजस्व चाहिँ ६ देखि ७ रुपैयाँमा सिमिति छ’ एक जना जानकार भन्छन्, ‘अहिले त झन ईभीलाई सहुलियत दिइएको छ । अर्को वर्षसम्म लगानी र राजस्व बराबर हुने स्थिति छ । यसकारण अब सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्नु जरुरी छ ।’
के नेपालमा विश्वसनीय एसेम्बल हुँदैन ?
अहिले शक्ति राष्ट्रहरु सेवा क्षेत्र केन्द्रित रहेको आफ्नो देशको अर्थतन्त्र उत्पादन केन्द्रित बनाउने अभियानमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब फेरि उत्पादनमा फर्किन्छ भनिरहेका छन् ।
नेपालमा पनि लक्ष्मी ग्रुपले चार पाङ्ग्रे सवारीको एसेम्बल गरिरहेको छ । गोल्छा अर्जनाइजेशनले बजाज मोटरसाइकलको एसेम्बल गरिरहेको छ । अरु दुइ पाङ्ग्रे एसेम्बल उद्योगहरु पनि चलिरहेका छन्, कतिपय दर्ता भएर पनि सरकारले नीति स्थिर नहुने डरले अपरेशनमा आउन नसकेको बताइन्छ ।
सँगै, नेपालमा एसेम्बल हुने गाडीहरुप्रति विश्वास पनि बढ्न सकेको छैन । गुणस्तर कमसल हुन्छ भन्ने गलत चर्चा पनि बेलाबेला भइरहन्छन् । तर, आफ्ना सफल मोडल क्रेटा र भेन्यू नेपालमै एसेम्बल गरिरहेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार एसेम्बल प्लान्ट भारतमा छुट्टै, जपानमा छुट्टै, कोरियामा छुट्टै र नेपालमा छुट्टै भन्ने हुँदैन । संसारका जुनसुकै देशमा पनि एसेम्बल स्टेशन एकै प्रकारको हुने भएकाले नेपालमा पनि सोही मापदण्ड र स्तरको एसेम्बल प्लान्ट आफूहरुले लगाएको लक्ष्मी ग्रुपले बताएको छ ।
गाडीको एसेम्बल भनेको उद्योगको पहिलो चरण भएको बताउँदै उनले भने, ‘गाडी एसेम्बललमा ४ वटा सप हुन्छन् । प्रेस सप, पेन्ट्स सप, एसेम्बली सप (सब–एसेम्बली लाइन र मेन–एसेम्बली लाइन) । प्रेस सपमा गाडीको साइज निकालिन्छ, त्यसपछि पेन्ट्स सपमा जान्छ । त्यसपछि बल्ल सब–एसेम्बली लाइनमा हालेर स–साना टुक्रा र कम्पोनेन्ट जोडिन्छ । यसपछि बल्ल मेन एसेम्बलीमा प्रवेश हुन्छ । यसमा १४ देखि १५ वटा स्टेशन हुन्छन् । ति स्टेशनका आ–आफ्नै काम हुन्छन् । रोबर्टद्वारा ति काम गरिन्छ ।’
उनका अनुसार मेन एसेम्बलमा हालेपछि म सुरुमा दोस्रो स्टेशनको काम गरेर पहिलो स्टेशनको काम गर्छु भनेर हुँदैन, सुरुमा पहिलो स्टेशनकै काम गर्नुपर्छ । यसरी सबै स्टेशनबाट तयार भएर निस्किएपछि बल्ल गाडी टेस्ट फेजमा जान्छ । अहिले नेपालमा प्रेस सप र पेन्ट्स सप छैन । यी दुइ सपबाहेकका काम भने लक्ष्मी ग्रुपले आफ्नै एसेम्बल प्लान्टबाट गर्दै आएको महाप्रबन्धक थपलिया बताउँछन् ।
नेपालमा एसेम्बल भएका गाडीहरुको गुणस्तरमा कुनै शंका गर्नुपर्ने कारण नभएको उनको भनाइ छ । बरु, सरकारले सहुलियत दिएरै भएपनि सबै कम्पनीहरुलाई गाडी आयात गरेर बेच्ने मात्रै नभई एसेम्बल गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।
१० देखि १५ प्रतिशत सस्तो, रोजगारी पनि सिर्जना
अहिले लक्ष्मीको एसेम्बल उद्योगमा ४ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ५ हजार युनिट वार्षिक उत्पादन क्षमता भएको प्लान्ट हुनाले यसले अन्य उद्योगलाई समेत प्रोत्साहन गर्ने देखिएको छ ।
नेपालमै गाडी तथा मोटरसाइकल एसेम्बल हुँदा त्यसलाई चाहिने टायर, ब्याट्री, प्लास्टिक कभर जस्ता अन्य उत्पादनहरु पनि स्वदेशमै गर्न सकिने भएकाले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बजाज मोटरसाइकल एसेम्बल गरिरहेको गोल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक शेखर गोल्छा बताउँछन् ।
‘एसेम्बल प्लान्ट लगाउनसाथ मूल्यमा त्यसको लाभ खोज्नु हुँदैन, यो भनेको औद्योगिक यात्राको सुरुवात हो’ उनी भन्छन्, ‘रोजगारी सिर्जना भएको छ, अन्य उद्योगहरु विस्तारै खुल्न थाल्छन् । यो पाटो हेर्नुपर्छ । भविष्यमा मूल्यमा पनि यसको लाभ पाइन्छ नै ।’
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्ध थपलियाका अनुसार भने नेपालमै बनेका गाडी तुलनात्मक रुपमा १० देखि १५ प्रतिशत सस्तोमा पाइन्छ । उनका अनुसारमा नेपालमा बनेको क्रेटाको मूल्य ५३.९६ लाखबाट सुरु हुन्छ । यसको माथिल्लो रेन्जको मूल्य ७८.९६ लाख छ । ‘आयात गरेर ल्याइएको भन्दा नेपालमै एसेम्बल गरिएको क्रेटाको मूल्य ४ लाखदेखि ९ लाखसम्म सस्तो छ’ उनले भने ।
उनका अनुसार नेपालमै एसेम्बल भएका ५ सय बढी हुण्डाइका भेन्यू गाडी नेपाली बाटोमा गुडिरहेका छन् । एक महिनाको अवधिमै क्रेटा पनि ९० भन्दा बढी डेलिभरी भइसकेको छ ।
ईभीको एसेम्बल सम्भव छ कि छैन ?
अहिले ईभीको बजारमा उछाल आएको छ । पूराना घरानादेखि नयाँ कम्पनीले समेत चिनियाँ ईभी ल्याएर बिक्रि गरिरहेका छन् । लक्ष्मी ग्रुपले भने ईभीको पनि एसेम्बल प्लान्ट राख्न सकिने देखेको छ । उसले एसेम्बल सपमा २ वटा स्टेशन ईभीका लागि राखेको छ ।
‘सहुलियत प्राप्त भएको खण्डमा लक्ष्मी ग्रुपले ईभी पनि एसेम्बल गर्ने लक्ष्य राखेको छ’ महाप्रबन्धक थपलिया थप्छन्, ‘१४ मध्ये २ वटा स्टेशन ईभीका लागि राखिएको छ । सरकारले सहुलियत दिएको अवस्थामा ईभीको पनि एसेम्बल गर्न सकिन्छ ।’













