नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेटघट गरेको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्राधिकरणका अध्यक्षसँग छलफल गरेको हो ।
सो क्रममा अध्यक्ष ओझाले बीमा प्राधिकरणले विद्युतीय सवारी (ईभी)का लागि छुट्टै बीमा पोलिसी बनाउन लागिएको जानकारी गराएका छन् । प्राधिकरणले ईभीको स्पेयर पाट्र्स, सर्भिसमा लाग्ने खर्च र बिक्री मूल्यलाई आधार बनाएर बीमा पोलिसी बनाउन लागेको अध्यक्ष ओझाले जानकारी दिएका हुन् । उनका अनुसार ईभीको छुट्टै बीमा पोलिसी बनाउने काम अघि बढिसकेको छ ।
छलफलामा नाडाको तर्फबाट विद्युतीय सवारी साधनका सम्बन्धि नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउन सुझाएको छ । नाडाका उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी बीमा नीति आवश्यक रहेको बताएका थिए ।
छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारीसहित नाडाबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालसमेतको उपस्थिति थियो ।