केही वर्षयता नेपाली अटोबजार ईभीमय भइरहेको छ । नेपाली बजारमा अहिले चिनियाँ ईभीले बर्चश्व जमाइरहेका छन् । सन् २०१८/०१९ बाट विद्युतीय कारप्रति तीव्र आकर्षण बढ्न थालेको हो । जसका कारण हालसम्म नेपाली अटोबजारमा दुइ दर्जन बढी ब्राण्डका चार पाङ्ग्रे ईभी भित्रिसकेका छन् ।
नेपाली बजारमा खासगरी टाटा, बिवाईडी र एमजीको सफलता पश्चात ईभी भित्र्याउने लहर चलेको हो । विभिन्न नयाँ नयाँ ब्राण्डहरु भित्रिरहेपनि सफल भने सिमित ब्राण्ड मात्रै भइरहेका छन् । विशेषगरी, चिनियाँ बजारमा ‘स्टार्ट अप’ शैलीमा खुलेका कम्पनीहरुले बनाएका ईभी नेपाल ल्याउन नेपालका ठूलै घरानादेखि भर्खर खुलेका कम्पनी सम्मले प्रतिस्पर्धा गर्दै आएका छन् ।
सिमित ब्राण्डको बर्चश्व
अहिले नेपाली बजारमा ईभीको चर्चा सुरु भएकै समयमा प्रवेश गरेको एमजीले राम्रो गरिरहेको छ । सन् २०१९ मै एमजीले ईभी नेपाल भित्र्याएको थियो । त्यसयता एमजी–४ सहित निकै चर्चित जेड–एस ईभी ल्याएको उसले अहिले एस–५ ल्याएर एक खालको तहल्का मच्चाइरहेको छ । व्यापारकै दृष्टिकोणले पनि एमजीका ईभी नेपाली बजारमा ‘सस्टेन’ भएका मोडलमा पर्छन् । उसँग ‘प्रोडक्ट ब्यापअप’ पनि छ भन्ने देखिएको छ । चार्जिङ नेटवर्कमा पनि उसले लगानी गरेको छ ।
नेपाली बजारमा सफल ब्राण्ड हो टाटा । सन् २०२१ मा टाटाको नेक्सन ईभी नेपाल आएको थियो । नेक्सन ईभीले गजबको सफलता हात पार्यो । त्यसयता टाटाका टियागो, पन्च र कर्भ ईभी नेपाल आइसकेका छन् । चार्जिङ नेटवर्क पनि देशैभरी विस्तार गरिसकेको छ । अटोमोबाइल्सका हरेक सेग्मेन्टमा नेपाली बजारमा सफल मानिने टाटा ईभीमा पनि सर्वाधिक सफल ब्राण्ड बनेको छ । उसैको सफलतापछि इलेक्ट्रीक कारका विभिन्न ब्राण्ड नेपाल भित्र्याउन प्रतिस्पर्धा चलेको हो ।
अहिले नेपाली अटोमोबाइल्स बजारमा ईभीतर्फ बिवाईडीलाई ‘लिडर’ मानिन्छ । सन् २०१७ मा ई–६ मोडलसहित नेपाल भित्रिएको बिवाईडीले हाल डल्फिन, एटो–३ लगायतका मोडलमार्फत तहल्का मच्चाइरहेको छ । पर्याप्त प्रोडक्ट, नयाँ नयाँ टेक्नोलोजी सहितका विभिन्न कार्यक्रम, सर्भिस सेन्टर लगायतले बिवाईडीलाई नेपाली अटोमोबाइल्स बजारको ईभीतर्फको लिडर बनाइदिएको छ । ‘सामाजिक उत्तरदायित्व’ तर्फ पनि बिवाईडीले गरको लगानीको चर्चा हुने गरेको छ । सँगै, चार्जिङ स्टेशन तथा प्वाइन्टमा पनि बिवाईडीले राम्रो लगानी गरेको छ ।
त्यस्तै, सन् २०१८ मा हुण्डाईले विद्युतीय कार कोना नेपाल भित्र्याएको थियो । त्यसपछि लक्जरीतर्फ आयोनिक–५ ल्याएको हुण्डाईले अहिले बहुचर्चित क्रेटाको ईभी भर्सन पनि नेपाल ल्याइसकेको छ । बजारमा चर्चामा रहेका अन्य ब्राण्डलाई टक्कर दिने देखिएको क्रेटा ईभीप्रति अटोमोबाइल्स पारखीको ‘क्रेज’ गजबको देखिएको छ । क्रेटा ईभीको ‘पफर्मेन्स’ कस्तो हुन्छ, त्यो हेर्न बाँकी छ ।
चांगानको दीपल ब्राण्डले पनि नेपाली बजारमा राम्रो उपस्थिति जनाइरहेको छ । नामी र सेरेस मोडलले पनि राम्रै चर्चा बटुलेका छन् ।
लक्जरीतर्फ टोयोटाको हाइब्रिड छ, ईभी पनि निकट भविष्यमै आउने बताइन्छ । फक्सवागेन, फोर्ड, बीएमडब्ल्यू जस्ता ब्राण्ड पनि त्यसै बस्दैनन् ।
निसान र कियाले पनि ईभी ल्याइसकेका छन् । सुजुकीले पनि २०२६ सम्म ईभी ल्याउने बताइएको छ । यी ब्राण्ड आईसी इन्जिनमा पनि नेपाली बजारमा लामो समयदेखि रहेका ब्राण्ड हुन् ।
यी बाहेक अन्य ब्राण्ड तथा मोडल पनि नेपाली बजारमा बिक्री भइरहेका छन् । तर, चर्चाका साथ उपस्थित भएपनि उनीहरुको बजारमा उपस्थिति कमजोर देखिएको छ । लीपमोटर, एक्सपेङ, जिकर, स्मार्ट, नेटा, अवतार, स्काइवेल, एलइभी, विलिङ, डायुन, हेनरी, केई, एवोन, भोल्ट्स, बीएडब्ल्यू, जेएम ईभी लगायतका दर्जनौँ ब्राण्ड नेपाली बजारमा भएपनि यीमध्ये धेरैले शोरुम मात्रै बनाएका छन्, केहीले मात्रै सर्भिस सेन्टर बनाएका छन् । धेरैजसोले चार्जिङ स्टेशनमा लगानी नै गरेका छैनन् । यसबाट पनि नेपाली बजारमा आएका ईभी ब्राण्डमध्ये धेरैजसो ब्राण्डको यात्रा लामो समयसम्म कायम रहन्छ भन्नेमा आशंका छ ।
वार्षिक १३ हजार युनिटको बजारमा सबै ब्राण्ड चल्लान् ?
अहिले सुरु सुरुमा नयाँ ब्राण्डले पनि एकाध गाडी बिक्री गर्नु सामान्य हो । तर, वार्षिक मुस्किलले १२ देखि १३ हजार युनिट कार बिक्री हुने नेपाली बजारमा अहिले देखिएका सबै ब्राण्ड दीर्घकालसम्म चल्न सक्ने अवस्था छैन ।
यति मात्रै होइन, अहिले चिनियाँ ब्राण्ड मात्रै दुइ दर्जन नाघिसकेको अवस्था छ । अझै थपिने क्रममा पनि छन् । यसकारण यी सबै ब्राण्ड टिक्न सक्ने अवस्था नरहेको अटोमोबाइल्स क्षेत्रका जानकारहरु बताउँछन् ।
‘इतिहास नभएका ब्राण्ड टिक्दैनन्, फेरि नेपाली बजारले मात्रै पनि यसको छिनोफाने गर्ने हैसियत राख्दैन, अन्तर्राष्ट्रिय बजारमा मजबुत उपस्थिति जनाउन सक्ने मात्रै टिक्ने हुन्’ एक जना अटोमोबाइल्स बजारका जानकार भन्छन्, ‘बजारमा आएकालाई तँ टिक्दैनस् भनेर सिँधै भन्न पनि मिलेन । तर, आधा दर्जन ब्राण्डबाहेक अरु टिक्न सक्दैनन् भन्ने चाहिँ साँचो कुरा हो । टिक्ने ब्राण्ड कुन कुन हुन् भन्ने यसो नाम गन्दा नै थाहा हुने कुरा हो ।’













