एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले असोज २० गते आइतबार आम्रपाली ब्याक्वेटमा साधारणसभा गर्ने निर्णय गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रहेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
एभरेष्ट बैंक आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्ने र साधारणसभा बोलाउने पहिलो वाणिज्य बैंक बनेको छ ।
यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्तावहरु:
१. संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ ३१ गतेको वासलात, सोही मितिमा समाप्त आ. व. २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,
३. मिति २०८१/०५/२१ मा बसेको सञ्चालक समितिको ३७२ औं बैठकले शेयरधनीहरुलाई निम्न बमोजिम बोनस शेयर तथा नगद लाभाशं प्रदान गर्न सिफारिस गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्ने,
(क) १०% का दरले बोनस शेयर जारी गर्ने बिशेष प्रस्ताव
(ख) ५.५३% नगद लाभाशं (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्न गरेको सिफारिसलाई छलफल गरी पारित गर्ने,
४. प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने,
(क) बैंकले प्रस्तावित बोनस शेयर जारी भएपश्चात पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्न ।
(ख) सञ्चालकलाई नेपाल भित्र, भारत र नेपाल तथा भारत बाहिर अन्य देशको भ्रमण गर्नु पर्दा दैनिक भत्ता विगत ९ वर्ष देखि पुनरावलोकन नभएकोले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्नका लागि नियमावलीको नियम २८ (१) (ग) सोही बमोजिम संशोधन गर्न ।
५. सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्ने ।
६. आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।










