पछिल्लो समय व्यवसायी राजेन्द्र खेतान चर्चामा छन्। उनले फोन पे को २० प्रतिशत शेयर खरिद गर्न लागेको विषय र लक्ष्मी सनराइज बैंकमा स्वामित्व ह्वात्तै बढाएको विषयले उनी चर्चामा आएका हुन्।
राजेन्द्र खेतानले लक्ष्मी सनराइज बैंकमा स्वामित्व उलेख्य बढाएका हुन् । राजेन्द्र खेतानको आफ्नो नाममा, आफ्ना परिवारका सदस्यको नाममा, र समूहको लगानी रहेका कम्पनीहरुमा नाममा गरि बैंकको ६ करोड ६० लाख कित्ता बढी शेयर स्वामित्व पुगेको छ। जुन बैंकको कुल पुँजीको २७ प्रतिशत भन्दा धेरै हुन आउँछ। यस हिसाबमा खेतान समूहले लक्ष्मी सनराइज बैंकमा आफ्नो कन्ट्रोल २७ प्रतिशत भन्दा धेरै पुर्याएको छ।
लक्ष्मी सनराइज बैंकमा आफ्नो कन्ट्रोल २७ प्रतिशत भन्दा धेरै पुर्याएसंगै अब राजेन्द्र खेतान समूहले बैंकलाई मर्जरमा लैजाने तयारी गरेको बजार चर्चा चल्न थालेको छ। लक्ष्मी सनराइज बैंकले एभरेष्ट बैंकसँग मर्जरको लागि सम्भावना हेरिरहेको स्रोतको भनाई छ।
स्रोतका अनुसार हिजो मात्र लक्ष्मी सनराइज बैंकका कर्मचारीहरुको तलव वृद्धि र प्रमोशनको निर्णय भएको छ। राजेन्द्र खेतान समूहले आफ्नो स्वामित्व बढाएर २७ प्रतिशत बढी पुर्याउनु र हिजो मात्र बैंकका कर्मचारीहरुको तलव वृद्धि र प्रमोशनको निर्णय गर्नुले बैंक मर्जरमा जाने तयारी रहेको ति स्रोतको भनाई छ ।
यस अघि पनि राजेन्द्र खेतान नै साविकको लक्ष्मी बैंकको अध्यक्ष रहेको बेला एभरेष्ट बैंकसँग मर्जरको लागि प्रक्रिया धेरै नै अगाडी बढिसकेको थियो। तर अन्तिममा स्वाप रेसियो नमिलेपछि सो मर्जर सफल हुन सकेको थिएन। पहिले एक पटक प्रयास भईसकेको र धेरै विषय मिल्ने भएकोले लक्ष्मी सनराइज र एभरेष्ट बैंक मर्जरको सम्भावना देखिएको स्रोतको भनाई छ।
त्यस्तो त् हाल एभरेष्ट बैंकका सीइओ रहेका सुदेश खालिङ खेतानले विश्वास गरेका पात्र रुपमा चिनिन्छन्। २०७१ साउनमा खेतानले खालिङलाई लक्ष्मी बैंकको सीइओ बनाएका थिए। अहिले पनि एभरेष्ट बैंकसँग मर्ज भएमा मर्जरपछि खालिङलाई नै सीइओ बनाइने बताईएको छ। एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधनपछि एभरेष्टमा शक्तिशाली नेतृत्वकर्ता नभएको र सो स्थान खेतानले लिन चाहेको पनि बताइन्छ। लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंक मर्जर भएमा देश कै ठूलो बैंक बन्ने र त्यसमा खेतान समूहको स्वामित्व अन्तिम स्वाप रेसियोको आधारमा १५ देखि २० प्रतिशतको हाराहारीमा रहने बताईएको छ। जसबाट ठूलो बैंकको नेतृत्व गर्ने खेतानको चाहना पनि पुरा हुने स्रोतको भनाई छ।
यद्यपि लक्ष्मी सनराइज बैंकका एक संचालक समिति सदस्यले भने हाल संचालक समितिमा मर्जरबारे केही पनि छलफल नभएको बताए । उनका अनुसार पछिल्लो समय मर्जरको बारे कुनै छलफल भएको छैन । एभरेष्ट बैंक स्रोतले पनि तत्काल कुनै पनि बैंकसँग कुनै पनि मर्जरको योजना नरहेको जनाएको छ। तर खेतानले भने बाहिर सबै मिलाएर अनि बल्ल संचालक समितिमा लैजाने तयारी गरेको हुन सक्ने स्रोतको भनाई छ।
राजेन्द्र खेतानलाई मर्जर किङको रुपमा पनि चिनिन्छ। उनले २०६१ साल मै लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई मर्ज गराएका थिए, जसलाई बैंकिंग क्षेत्रको पहिलो मर्जर भन्ने गरिन्छ । पछि लक्ष्मी बैंक र सनराइज बैंकलाई पनि मर्ज गराएर अहिले लक्ष्मी सनराइज बैंकको रुपमा रहेको छ।
खेतानले बैंकमा मात्र नभई बीमामा पनि मर्जर गरेका छन् । खेतान मूख्य लगानीकर्ता रहेको प्राइम लाइफ इन्स्योरेन्स थियो । प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेनस र युनियन लाइफ इन्स्योरेन्स मर्ज भएर अहिले हिमालयन लाइफ इन्स्योरेन्स संचालनमा छ। हिमालयन जनरल इन्स्योरेन्स र खेतानको लगानी रहेको एभरेष्ट इन्स्योरेन्स पनि मर्ज भएर अहिले हिमालयन एभरेष्ट इन्स्योरेन्स संचालनमा छ।
यस अघि : लक्ष्मी सनराइज बैंकमा खेतान समूहले ह्वात्तै बढायो स्वामित्व, ६ करोड ६० लाख कित्ताको होल्डिङ
यो पनि : लक्ष्मी सनराइजमा अझै स्वामित्व बढाउँदै खेतान समूह, सिनर्जी बढ्ने पार्टनर पाए मर्जको योजना













