बैंकहरु राष्ट्र बैंकमा ६३ दिन अवधिको निक्षेप राख्न अनिच्छुक देखिएका छन् । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएपछि असार महिनामा आज दोस्रो पटक ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल गरेको थियो ।
तर यस अघिको जस्तो आज पनि बैंकहरुबाट राष्ट्र बैंकले मागेको भन्दा कम आवेदन परेको छ। आज राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन बोलकबोलको लागि सूचना जारी गरेको थियो। जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाबाट १० वटा विड परेको थियो । जसमा बैंकहरुले १७ अर्ब ५५ करोड राष्ट्र बैंकमा राख्न प्रस्ताव गरेका थिए । ३० अर्ब खिच्न खोजिएकोमा कम आवेदन परेपछि राष्ट्र बैंकले १७ अर्ब ३० करोड मात्र रकम संकलन गरेको छ । यो रकमको लागि बैंकहरुले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याज प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले ३ प्रतिशतको भारित औसत ब्याजदरमा रकम संकलन गरेको हो । यो भनेको बैंकहरुले ६३ दिनको लागि ३ प्रतिशतको भारित औसत ब्याजदरमा १७ अर्ब ३० करोड रकम राष्ट्र बैंकमा राखेका हुन् । राष्ट्र बैंकले भदौ १५ गते सो रकम फिर्ता गर्ने छ ।
राष्ट्र बैंकले यस अघि असार ११ गते पनि ६३ दिन अवधिको निक्षेप संकलन बोलकबोल गरेको थियो । सो दिन राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्न आवेदन खुलाएकोमा ३८ अर्ब ५ करोडको लागि मात्र आवेदन परेको थियो। जसमा राष्ट्र बैंकले ३७ अर्ब ६५ करोड संकलन गरेको थियो।
चालु आर्थिक वर्षमा पहिलो पटक राष्ट्र बैंकले ६३ दिन अवधिको निक्षेप संकलन बोलकबोल गरेको हो । यस अघि असार ४ गते ३५ दिन र असार ८ गते ४२ दिन अवधिको निक्षेप संकलन बोलकबोल भएको थियो। ति दिन पनि बैंकहरुबाट पुरै आवेदन परेको थिएन ।
के हो निक्षेप संकलन ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।