हिमालय रि–इन्स्योरेन्सको शेयर विवादका सम्बन्धमा न्यायसंगत निर्णयका लागि चेम्बर अफ कमर्सले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र पठाएको छ । हिमालय रि–इन्स्योरेन्सको शेयर एकलौटी रुपमा जफत गराइएको लगायतका विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी परेको भन्दै चेम्बरले उक्त उजुरी उपर न्यायसंगत निर्णयको लागि अनुरोध गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रारलाई सम्बोधन गर्दै लेखेको पत्रमा यस सम्बन्धमा आवश्यक सहयोग तथा सहजीकरणका लागि अनुरोध गर्दै चेम्बरमा निवेदन आएको उल्लेख छ । जस अनुसार उनले उक्त विषयमा वस्तुनिष्ठ र न्यायसंगत निर्णयको लागि सिफारिससहित अनुरोध गरेका हुन् ।
‘कम्पनीको शेयर जफत गरी खरिद बिक्री गर्ने कार्य मिलेमतोमा भएको र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर एकलौटी रुपमा जफत गराइएको जस्ता कार्यहरुको विरुद्दमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएको विषयमा विभिन्न व्यहोरा खुलाई चेम्बरमा निवेदन प्राप्त भएको हुँदा यस विषयमा वस्तुनिष्ठ न्यायसंगत गरिदिने व्यवस्थाको लागि सिफारिसहित अनुरोध गर्दछु’ चेम्बर अध्यक्ष अग्रवालले कम्पनी रजिष्ट्रारलाई लेखेको पत्रमा भनिएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदिप राज अधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा भन्दै उक्त उजुरी खारेज गर्न लागेको गुनासो आएपछि यस विषयमा बिजनेशपाना डटकमले निरन्तर फलोअप गरिरहेको छ । यद्यपी, उपरजिष्ट्रार सहितका अधिकारीहरु छलफल बिना उजुरी खारेज गर्न नहुने अडानमा भएकाले रजिष्ट्रार अधिकारीले निवेदन खारेज गर्न सकिरहेका छैनन् । उनलाई मन्त्री भण्डारीले आफ्नो निवासमा बोलाएर उजुरी खारेज गर्न निर्देशन दिएको बताइएको छ । मन्त्री भण्डारीमाथि विपक्षीका वकिलसँग अधिकारीलाई राखेर सो उजुरी खारेज गर्न निर्देशन दिएको आरोप छ भने रजिष्ट्रार अधिकारीमाथि मन्त्रीको आदेश अनुसार उजुरी खारेज गर्न तयार भएको आरोप लागेको छ ।
उपरजिष्ट्रार सहितका अधिकारीहरुले निवेदन उपर छलफलको प्रक्रिया अघि नबढाई खारेज गर्न नहुने अडान लिँदा रजिष्ट्रार अधिकारीले मुद्दा खारेजको निर्णय गर्न नसकेको तर, उनीमाथि पनि निवेदन खारेज गर्न निरन्तर दबाब आइरहेको स्रोतले बताएको छ ।
यस सम्बन्धमा वस्तुनिष्ठ न्यायसंगत निर्णयका लागि अनुरोध गर्दै चेम्बर अफ कर्मसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत पत्र पठाएको बताइएको छ ।
यस अघि : ‘हिमालयन रि’को शेयर विवादमा उद्योग मन्त्रीको ‘इन्ट्री’: ठाडो निर्देशन दिएको आरोप
हिमालय रि शेयर विवादः मन्त्रीको ‘इन्ट्री’पछि कम्पनी रजिष्ट्रारमा के खिचडी पाक्दैछ ?













