बीवाईडी गाडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन’को स्थापना गरेको घोषणा गरेको छ ।
सो फाउन्डेसनले अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री बापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।
यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीबापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरेका हुन् । यो पहलले कुनै पनि कार्यमा महत्पूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामूहिक लक्ष्यतर्फ सङ्केत गर्ने बताइएको छ ।
लिउ स्वेलियाङले भने ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो । हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिवद्ध छौ ।’
यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् ।
उनका अनुसार शिक्षा, स्वास्थ्य र दीगो विकासमा फाउन्डेसन केन्द्रित हुनेछ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन समर्पित गरिने उनले जानकारी दिए ।
बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई दिएका छन् ।













