Monday, August 3, 2026
spot_img

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

spot_img

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक मानिन्छ । तर, पछिल्लो समय नेपालमा आन्दोलन वा विरोध प्रदर्शन भन्नासाथ नागरिकको मनमा एउटै डर पैदा हुन्छः कतै फेरि तोडफोड र आगजनी त हुने होइन ? किनकी, पछिल्ला वर्षहरूमा भएका राजनीतिक आन्दोलन तथा धार्मिक प्रदर्शनहरु आगजनी र तोडफोडमा रुपान्तरण भएका छन् ।

पहिले आन्दोलनमा टायर बालिन्थ्यो, पुत्ला जलाइन्थ्यो । अहिले भने सवारी सधानदेखि डिपार्टमेन्ट स्टोर, उद्योग प्रतिष्ठानदेखि निजी आवास र सरकारी कार्यालयदेखि ऐतिहासिक भवनसम्म निशानामा पर्ने गरेका छन् । आन्दोलनको मुद्दा जे भएपनि अन्त्यमा आगो लगाउने खतरनाक संस्कृति विकसित हुँदै गएको छ ।

नेपालमा प्रदर्शन वा आन्दोलन नयाँ होइन । आजको नेपाल बन्नुमा २०४६ सालको आन्दोलन, २०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन, कर्मचारी आन्दोलन, विद्यार्थी आन्दोलन सबैको भूमीका छ । ती आन्दोलनहरूमा आगजनीका घटना भएपनि पछिल्ला वर्षमा देखिएको जस्तो निजी सम्पत्ति र आर्थिक संरचनामाथिको व्यापक आक्रमण भने भएका थिएनन् । अझ पछिल्ला २ वर्ष यताका घटनाहरूले त आन्दोलनको चरित्र नै बदलिँदै गएको भयानक संकेत दिएका छन् ।

दुर्गा प्रसाईंको राजावादी आन्दोलनदेखि हालैको धार्मिक प्रदर्शनसम्म

दुर्गा प्रसाईंले नेतृत्व गरेको राजावादी पक्षधरको आन्दोलनले तोडफोड र आगजनी नै आन्दोलनको सफलता वा दबाब सिर्जनाको उपर्युक्त माध्यम हो भन्ने भाष्य बनाएको देखिन्छ । २०८१ चैत १५ मा व्यवसायी प्रसाईँको नेतृत्वमा भएको राजसंस्था पक्षधरहरुको आन्दोलनले तीनकुने र कोटेश्वर क्षेत्र हिंसात्मक बनेको थियो । आन्दोलनकारीले सञ्चारगृह, व्यवसायिक भवन, कोटेश्वरको भाटभटेनी सुपरस्टोरसहित निजी सवारीसाधन तथा राजनीतिक दलका कार्यालयहरुमा आगजनी र तोडफोड गरेका थिए ।

उक्त आन्दोलन राजसंस्थाको पक्षमा र सरकारको विरोधमा भएपनि क्षति भने निजी क्षेत्रले बेहोर्नुपर्‍यो । त्यसपछि भएका अनुसन्धानले आन्दोलन हिंसात्मक बनेको निष्कर्ष निकालेका थिए भने त्यससँग सम्बन्धित मुद्दाहरु अहिले पनि कानूनी प्रक्रियामा छन् ।

दोस्रोः जेन् जी आन्दोलन । २०८२ साल भदौ २३ र २४ गते जेन् जी आन्दोलन (जेनेरेशन जेड् पुस्ताले आह्वान गरेको आन्दोलन) भयो । उक्त आन्दोलन नेपालको अहिलेसम्मकै ठूलो शहरी हिंसा र आगजनीका रुपमा दर्ज भयो । सुरुमा भ्रष्टाचारको विरोध, सुशासन र राजनीतिक उत्तरदायित्वको मागसहित सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गयो । त्यस क्रममा सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतसहित देशका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय, सञ्चार संस्था, निजी कम्पनी, उद्योग लगायतमा अर्बौको क्षति पुग्यो ।

सरकारी क्षति मूल्यांकन समितिका अनुसार उक्त आन्दोलनबाट २ हजार १६८ संस्था प्रभावित भए भने २ हजार ६७१ भवनमा क्षति पुग्यो । १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त भए । ८४ अर्ब ४५ करोड ७७ लाख बढीको भौतिक क्षति भएको रिपोर्ट दिँदै सरकारी समितिले २ हजार ९९९ जनाले रोजगारी गुमाएको जनाएको छ ।

धार्मिक विवादमा पनि आगजनी

हालै मात्रै सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच सामान्य भनाभनबाट सुरु भएको विवाद पनि हिंसामा परिणत भयो । दुबै पक्षले देशका विभिन्न स्थानमा प्रदर्शन गरे । त्यस क्रममा पनि पसल, निजी सम्पत्ति, सवारीसाधन र सपिङ मलमा आगजनी तथा तोडफोडका घटना दोहोरिए ।

सबैतिरका धार्मिक प्रदर्शन र आन्दोलन हिंसात्मक भएका छैनन्, तर आन्दोलनको अगुवाई गरेको समूह वा नेतृत्वले भीडलाई नियन्त्रण गर्न नसक्दा फेरि उही आगजनीको प्रवृत्ति देखिएको छ ।

आन्दोलन किन ‘आगो’मा पुग्न थाल्यो ?

पछिल्ला आन्दोलन र प्रदर्शनहरु आगजनीमा रुपान्तरण हुने र धुँवा तथा खरानीलाई नै उदेश्य बनाउने तर्फ उद्दत हुँदा एउटा गम्भीर प्रश्न उठेको छः नेपालमा आन्दोलनको पहिलो भाषा नै किन ‘आगो’ बन्न थाल्यो ?

यसको पहिलो कारण दण्डहीनता हो । धेरै आगजनीका घटनामा संलग्न व्यक्ति सार्वजनिक रूपमा चिनिए पनि तिनले सजाय पाएका उदाहरण निकै कम छन् । जब दोषीले सजाय पाउँदैन, अर्को समूहले पनि आगजनीलाई नै आन्दोलनको सहज विकल्प ठान्छ ।

दोस्रो कारण भीडको मनोविज्ञान हो । एक्लै हुँदा कसैले पनि डिपार्टमेन्ट स्टोरमा आगो लगाउने आँट गर्दैन । तर सयौंको भीडमा व्यक्तिगत जिम्मेवारी हराउँछ । कसैले सिसा फुटाउँछ, अर्कोले पेट्रोल छर्किन्छ, तेस्रोले आगो लगाउँछ । केही मिनेटमै करोडौंको सम्पत्ति खरानी हुन्छ ।

तेस्रो कारण सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालमार्फत प्रेषित अपुष्ट सूचना, उत्तेजक भिडियो र भावनात्मक अपिल केही मिनेटमै लाखौं मानिससम्म पुग्छ । त्यस्तो समयमा तथ्य जाँच गर्नुभन्दा पनि अफवाहलाई नै सत्य सोचेर भीड अनियन्त्रित बन्छ ।

चौथो कारण आन्दोलनको रणनीतिमै कमजोरी हो । पछिल्लो समय आन्दोलनरत पक्षमा ‘केही नजलाएसम्म सरकारले सुन्दैन’ भन्ने मानसिकतामा बढ्दो देखिन्छ । यस्तो सोचले तोडफोड, आगजनी र हिंसालाई नै आन्दोलनको ‘शक्ति’ ठान्छ ।

तर आगजनीबाट फाइदा कसलाई हुन्छ ? यसको सिँधा जवाफ हुन्छः कसैलाई पनि हुँदैन । सबैको हार (पराजय) मात्रै हुन्छ । पहिला त व्यवसायीको हार हुन्छ । एउटा डिपार्टमेन्ट स्टोर जल्यो भने त्यसको मालिक (सञ्चालकहरु) मात्रै होइन, त्यहाँ काम गर्ने कर्मचारी, सामान आपूर्ति गर्ने उद्योग, लगानी गर्ने बैंक, त्यसको बीमा गरेको बीमा कम्पनी र उपभोक्ता सबै प्रभावित हुन्छन् ।

एउटा उद्योगमा आगो लाग्दा उत्पादन रोकिन्छ, मजदुर बेरोजगार हुन्छन्, सरकारको राजस्व घट्छ । एउटा निजी घरमा आगो लाग्दा सिङ्गो परिवारको जीवनभरको कमाइ खरानी हुन्छ ।

सरकारी कार्यालय जलेपछि सेवा लिन आउने नागरिकले दुःख पाउँछन् । प्रहरी चौकी जलेपछि सुरक्षा व्यवस्था कमजोर हुन्छ भने सुरक्षाकर्मीको मनोबल पनि घट्छ । ऐतिहासिक भवन जलेपछि त्यो सम्पदा फेरि फर्केर आउँदैन ।

अर्थतन्त्रको दृष्टिले पनि आगजनी र तोडफोडयुक्त आन्दोलनले मुलुकलाई शिथिल बनाउँछ । सरकारले पुनर्निर्माणमा अर्बौं रुपैयाँ खर्च गर्नुपर्छ । लगानीकर्तामा असुरक्षा पैदा गर्छ । विदेशी लगानीकर्ताले नेपाललाई उच्च जोखिमयुक्त गन्तव्यका रूपमा हेर्न थाल्छन् । यसले रोजगारी, लगानी र आर्थिक वृद्धिमै प्रत्यक्ष असर पार्छ ।

अब राज्यले के गर्नुपर्छ ?

सबैभन्दा पहिले आगजनीलाई आन्दोलनको ‘सामान्य परिणाम’ भनेर स्वीकार गर्ने सोच अन्त्य गर्नुपर्छ । आन्दोलन शान्तिपूर्ण भए त्यस क्रममा उठेका मागलाई सम्बोधन गर्नुपर्छ । तर, आगजनी र तोडफोडमा भने राज्यले शून्य सहनशीलताको नीति लिनुपर्छ ।

दोस्रो, प्रत्येक आगजनीका घटनाको वैज्ञानिक अनुसन्धान गरी दोषीलाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति नदिई उसलाई कानून अनुसार कारबाही गर्नुपर्छ । त्यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान गरी अन्तिम अदालतसम्म मुद्दा पुर्‍याउनुपर्छ ।

तेस्रो, सार्वजनिक वा निजी सम्पत्ति नष्ट गर्ने व्यक्तिबाट क्षतिपूर्ति समेत असुल गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्छ । जेल सजाय मात्र होइन, आर्थिक जिम्मेवारी पनि दोषीले नै वहन गर्नुपर्ने कानूनी प्रबन्ध हुनु जरुरी भइसकेको छ ।

चौथो, राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताले गरेको हिंसाको बचाउ गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । आन्दोलनको नाममा आगजनी गर्ने व्यक्तिलाई ‘राजनीतिक कार्यकर्ता’ होइन, कानुन उल्लंघनकर्ताका रुपमा सजायको भागिदार बनाइनुपर्छ ।

आन्दोलन भनेको लोकतन्त्रको अपरिहार्य हिस्सा हो । विरोध गर्ने अधिकार संविधानले दिएको छ । तर विरोधको नाममा निजी पसल जलाउने, उद्योग तथा प्रतिष्ठानहरु ध्वस्त पार्ने, सञ्चार संस्था तोडफोड गर्ने, निजी आवासमा आगो लगाउने वा सार्वजनिक सम्पत्ति खरानी बनाउने अधिकार कसैलाई छैन ।

यदि राज्यले अहिले पनि आगजनीलाई सामान्य राजनीतिक घटनाका रूपमा मात्रै हेर्ने हो भने भोलि कुनै पनि आन्दोलनको पहिलो दृश्य ‘प्लेकार्ड’ होइन, आगोको मुस्लो बन्न सक्छ । त्यसबेला नष्ट हुने केवल भवन, उद्योग, पसल वा गाडी मात्र हुने छैनन्, कानुनी शासनप्रतिको विश्वास, लगानीको वातावरण, नागरिकको सुरक्षा भावना र लोकतन्त्रको आधारसमेत खरानीमा परिणत हुने खतरा रहनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...

‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन...

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...
spot_img