मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका कारण एयरलाइन्स कम्पनीहरु असजिलो अवस्थाबाट गुज्रिन बाध्य हुनु परेको अपरेटर्सहरुले बताएका छन् । इन्धनको मूल्य वृद्धिका कारण हवाई भाडा पनि बढेको छ, जसका कारण आन्तरिक गन्तव्यमा उडान गर्ने जहाज (एयरलाइन्स कम्पनी)को अकुपेन्सी ३३ प्रतिशतले घटेको एयरलाइन्स अपरेटर्स एसोसियशनले जनाएको छ ।
नेपाल आउने युरोपेली र अमेरिकी पर्यटकहरुको ट्रान्जिट मध्यपूर्वी देशहरुमा पर्ने गर्छ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार संसारभरीका यात्रुमध्ये १४ प्रतिशत यात्रुहरु मध्यपूर्वी देश भएर यात्रा गर्छन् । नेपाल आउने अमेरिकी र युरोपेली देशका पर्यटकहरुका लागि पनि मध्यपूर्वी देशको ट्रान्जिट सहज, सरल, सस्तो र स्थापिट रुट मानिने जोशीको भनाइ छ । अहिले ति देशहरुमा युद्ध र द्वन्द्वको अवस्था रहेकाले युरोप र अमेरिकी देशबाट आउने पर्यटक प्रभावित भएका छन् ।
कर्मचारी कटौती हुन सक्ने जोखिम
मध्यपूर्वको तनावका कारण एकातिर खर्चालु पर्यटकको आगमन प्रभावित भइरहेको छ भने अर्कातिर इन्धनको मूल्य बढेका कारण हवाई भाडा बढ्दा यात्रु संख्या घटेको छ । एयरलाइन्स अपरेटर्स एसोसियशनका अध्यक्ष प्रताप जंग पाण्डेका अनुसार अहिले एयरलाइन्स कम्पनीहरुले कोभिड पछिको सबैभन्दा ठूलो संकटकाल ब्यहोर्नु परिरहेको छ ।
इजरायल–इरान युद्ध भन्दा अगाडि आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १२६ रुपैयाँ थियो । तर, युद्धका कारण इन्धनको मूल्य बढ्दा आन्तरिक उडान तर्फको हवाई इन्धनको भाउ प्रतिलिटर २६८ रुपैयाँसम्म पुग्यो । अहिले प्रतिलिटर २२९ रुपैयाँ छ ।
यसरी इन्धनको भाउ अचाक्ली बढ्दा हवाई भाडा पनि बढेका कारण अहिले आन्तरिक गन्तव्यमा यात्रुको संख्या अस्वभाविक रुपमा घटेको र जसका कारण एयरलाइन्स कम्पनीहरुलाई सञ्चालन खर्च धान्नै मुस्किल भइरहेको एक एयरलाइन्स कम्पनीका प्रतिनिधिले बताए । ‘अब यस्तै हो भने कर्मचारी कटौती गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने, ‘असार मसान्तमा बैंकको किस्ता तिर्न, तलब खुवाउन निकै असजिलो भएपछि अब कम्पनीहरुले सञ्चालन खर्च घटाउन कर्मचारी कटौती गर्नुपर्ने बाध्यता आइपर्न सक्छ ।’
परल मूल्यमा इन्धन दिन र पार्किङ शुल्कमा छुट दिन माग
सञ्चालन खर्च धान्नै धौ धौ भएपछि एयरलाइन्स कम्पनीहरुले केही समयका लागि हवाई इन्धन परल मूल्यमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘इन्धनमा सरकार (आयल निगम)ले नाफा नराखिदिए हुन्थ्यो, हामीलाई केही समयका लागि परल मूल्यमै हवाई इन्धन उपलब्ध गराउने हो भने भाडा घट्थ्यो र यात्रु बढ्थे’ अध्यक्ष पाण्डेले भने ।
यस्तै, ल्याण्डिङ र पार्किङको शुल्क पनि छुट दिन उनले नागरिक उड्डयन प्राधिकरणसँग आग्रह गरेका छन् । सरकारले इन्धनको नाफा र जहाज तथा हेलिकप्टरको पार्किङ र ल्याण्डिङ शुल्कमा सहुलियत वा छुट नदिने हो भने एयरलाइन्स उद्योगमा संकट थप चुलिने र त्यसले रोजगारी, सरकारको राजस्व र लगानीसम्म खतरामा पर्ने अध्यक्ष पाण्डेको चिन्ता छ ।









