Sunday, July 12, 2026
spot_img

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

spot_img

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विभेदकारी कदमबाट आफूलाई ठूलो आर्थिक नोक्सानी पुगेको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ ।

सेल्फ ग्राउण्ड ह्याण्डलिङका सम्बन्धमा हिमालय एयरलाइन्सको पक्षमा सर्वोच्चले आदेश दिएपनि काम अघि बढाउन क्यानले असहयोग गरेको र यसबाट कम्पनीलाई साढे ३ अर्ब हाराहारीको नोक्सानी पुगेको दाबी गरेको छ । यो समस्या ७ दिनभित्र समाधान नभए कानुनी प्रक्रियामा जाने चेतावनी सहितको पत्र कम्पनीले क्यानमा पठाएको छ ।

के हो विवाद ?

हिमालय एयरलाइन्सले सन् २०२० (वि.सं. २०७७) मा नै ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ (आफ्ना जहाजको भूमिस्थ व्यवस्थापन) अनुमति पाएको थियो । तर, क्यानले हिमालय एयरलाइन्सको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा नवीकरण गर्न नमानेपछि कम्पनी २०८१ सालमा सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले परमादेश दिएपछि क्यानले हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमति नवीकरण गरेको थियो । तर, क्यानले सेल्फ ग्राउण्ड ह्याण्डलिङ नवीकरण गरेपनि हालसम्म कर्मचारीहरूलाई आवश्यक पर्ने विमानस्थल प्रवेश पास उपलब्ध नगराएको र जसका कारण काम अघि बढाउन नसकिएको हिमालय एयरलाइन्सले जनाएको छ ।

कम्पनीका अनुसार २०२० मै सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमतिपत्र प्राप्त गरेपनि आफूले काम गर्न नपाउँदा ग्राउण्ड ह्याण्डलिङका लागि मात्रै नेपाल वायुसेवा निगमलाई ३ अर्ब ४६ करोड ४६ लाख ५७ हजार ३८० रुपैयाँ ०८ पैसा भुक्तानी गरेको गरिसकिएको छ ।

यसका साथै, सेल्फ ग्राउण्ड ह्याण्डलिङकै लागि करोडौँको मूल्य बराबरका उपकरण खरिद र सयौँ कर्मचारीलाई तालिमसमेत दिइसकिएको कम्पनीले जनाएको छ । ‘यस एयरलाइन्सका आवश्यक संख्याका कर्मचारीहरुको निमित्त विमानस्थल प्रवेश पासको उपयुक्त व्यवस्था नगरेका कारणबाट आपैmँले प्रदान गरेको अनुमतिपत्र बमोजिमको सेवा प्रदान गर्नबाट यस एयरलाइन्स बञ्चित रहन गई यस विदेशी लगानी कम्पनीमाथी अनुचित व्यवहार गरिएको एवं औद्योगिक व्यवसाय ऐन, २०७६ को व्यवस्था समेतको बरखिलाप गरेको कुरा घाम जस्तै छर्लंग हुँदाहुँदै पनि यस एयरलाइन्सले पटक पटक लिखित एवं मौखिक जानकारी गराउँदा समेत केवल मौन धारण गरी कुनै उपयुक्त व्यवस्था नगरी त्यस प्राधिकरणले यस हिमालय एयरलाइन्सका सम्बन्धमा विभेदकारी नीति लिएको होइन भनी भन्न सकिँदैन’ हिमालय एयरलाइन्सले भनेको छ ।

क्षतिपुर्ति मागसहित कानूनी उपचार खोज्ने चेतावनी

हिमालय एयरलाइन्सले क्यानलाई ७ दिनभित्र आफ्ना कर्मचारीलाई प्रवेश पास दिएर ग्राउण्ड ह्याण्डलिङको काम सुरु गर्ने वातावरण तयार नपारे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ । कम्पनीले समस्या समाधानका लागि क्यानले स्पष्ट निर्णय गरेर काम अघि बढाउनका लागि आफ्ना कर्मचारी प्रवेश पास नदिए हालसम्म आफूले तिरेको ३ अर्ब ४६ करोड ४६ लाख ५७ हजार रुपैयाँ क्षतिपूर्ति माग गर्दै कानूनी उपचार खोज्ने चेतावनी दिएको हो ।

‘यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र यस एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्नका निमित्त एयरलाइन्सका कर्मचारीहरुलाई आवश्यक संख्यामा विमानस्थल प्रवेश पास उपलब्ध नगराईएमा कम्पनीलाई पुग्न गएको रु ३,४६,४६,५७,३८०।०८ (अक्षरेपी रुपैयाँ तीन अर्ब छयालिस करोड छयालिस लाख सन्ताउन्न हजार तीनसय असी र पैसा आठमात्र) को हानी नोक्सानी वापत कानूनी कारवाही गर्न कम्पनी बाध्य हुने व्यहोरा समेत जानकारीका निमित्त अनुरोध गर्दछौँ’ हिमालयले पत्रमा भनेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

पर्यटन बोर्ड वेलनेस रिल प्रतियोगितामा कोशी प्रदेशबाट मिना राउत विजेता

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल...

सुनको भाउ बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन...
spot_img