कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो। आरविवि मर्चेन्टका अनुसार यस निष्काशनमा ८३ हजार ६ सय ६ जनाको आवेदन परेको थियो । जस मध्ये ७४ हजार ५ सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ८ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।
यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।













