Wednesday, April 29, 2026
spot_img
spot_img

लगानी बढाउन उत्साहित गर्ने मौद्रिक नीतिको आवश्यकता

spot_img
spot_img

शशिकान्त अग्रवाल

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सुरु गर्दादेखि नै निजी क्षेत्रले राहतको अपेक्षा गरेको थियो । बजेटले नयाँ उद्योगहरु ल्याउन प्रोत्साहन गर्दै उत्पादनमूलक र निर्यातमूलक उद्योगहरुलाई राहत दिन्छ कि भन्ने अपेक्षा नभएको होइन । सँगै, बजार बढ्ने खालका केही ‘मेकानिजम’ वा त्यस्ता केही ‘टूल्स’ आउँछन् कि भन्ने आशा थियो । बजेटबाट यो हुन सकेन । यद्यपि, आगामी आर्थिक वर्षको बजेट सन्तुलित छ । बजेट सन्तुलित हुँदाहुँदै पनि निजी क्षेत्रलाई, उद्यम व्यवसायको क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने थियो, त्यो हुन सकेन ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर अहिले बल्ल देखिँदैछ । उत्पादन घटेको छ, राजस्व घटेको छ, नयाँ रोजगारी सिर्जना हुनसकेको छैन । यी सब चीजहरु स्थिरमात्रै होइनन्, ‘माइनस’को अवस्थामा छन् । वीरगञ्जमा मेरो एउटा स्टिल उद्योग छ, त्यहाँ सुरुमा ३ सय ५० जनासम्म मान्छेहरुले रोजगारी पाएका थिए । अहिले उद्योग नै कम क्षमतामा चल्दा काम गर्ने मान्छेको संख्या २ सयमा झार्नुपरेको छ । मैले ३५० बाट बढाएर ५ सय जनालाई रोजगारी दिनसकेको भए राम्रो हुन्थ्यो, तर बाध्यता कस्तो आइप¥यो भने बजारमा माग नै नहुँदा उत्पादन कटौती गर्नुप¥यो । काम नै नभएपछि ३५० बाट २ सयमा झार्नुप¥यो । यो भनेको उद्योगको विकास हुनसकेको छैन भन्ने एउटा उदाहरण हो । यसकारण पनि बजेटसँग स्वाभाविक रुपमा निजी क्षेत्रका अपेक्षा थिए ।

बजेटले अर्थतन्त्रलाई ‘माइलेज’ दिने र उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा त्यतातर्फ खासै ठूलो केहीपनि देखिँदैन । एउटा सानो उदाहरण हेरौँ, रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादक र निर्याकर्ता हो । सबैभन्दा धेरै ‘भ्यालू एड’ हुने उत्पादन निर्यात गर्नेमा हामी पर्छौँ । निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने भनेर सरकारले भन्यो, हामी खुशी भयौँ । हामी निर्यात गरिरहेका थियौँ, यो प्रोत्साहनको नीति आएपछि मूल्यमा प्रतिस्पर्धा गर्न सहज ठानेर यताबाट सरकारले पछि अनुदानको पैसा दिइहाल्छ भनेर त्यो अनुदानबाट आउने रकमलाई घटाएर सामान निकासी गर्न थाल्यौँ । तर, अहिले २ वर्ष भइसक्यो, हामीले त्यो अनुदान बापतको पैसा पाउन सकेका छैनौँ । मेरो एउटा उद्योगले मात्रै ५० करोड भन्दा बढी नगद अनुदान बापतको पैसा भूक्तानी पाउन बाँकी छ ।

यसले उद्योग, उद्योगका सञ्चालक सबैको ‘क्यास फ्लो’ नै बिग्रियो । नगदको फ्लोमै असर परेपछि एकातर्फ तिर्नुपर्ने दायित्व (श्रमिकको ज्याला, कर्मचारीको तलब, सरकारी राजस्व, विद्युतको महशुल लगायत)मा असर पर्ने जोखिम बढाएको छ भने अर्कातिर नयाँ लगानीको योजना नै बनाउन पाएनौँ । यसले चौतर्फी नोक्सान परिरहेको छ ।

सरकारले घोषणा गरेको अनुदान त मैले सामान बेचेर बैङ्किङ प्रणालीबाट विदेशी मुद्रा आर्जन गर्नासाथ सँगै जोडिएर आउनुपर्ने हो । मैले सामान बेचेबापत विदेशी मुद्रा त बैङ्कमार्फत नै आउँछ, अनि त्यही प्रमाण होइन र ? फेरि अनुदानका लागि छुट्टै प्रमाण पेश गर्नुपर्ने किन ? मानौँ, मैले आज १० करोडको धागो पठाए, भोली पैसा आयो भने मैले १० करोडको निकासी गर्दा सरकारी हिसाबमा कति अनुदान पाउने हो त्यो पैसा तत्काल मेरो खातामा हालिदिए पो प्रभावकारी हुन्छ । बैङ्कले पछि राष्ट्र बैंङ्कमा दाबी गरेर लिने प्रणालीको विकास गरे त भइहाल्छ । एकातर्फ वर्षभरी सामान पठाएको विवरण बोकेर अनुदान दाबी गर्न जानुपर्ने प्रक्रिया नै झञ्झटिलो छ भने अर्कातिर त्यसरी जाँदासमेत भूक्तानी पाउने कुनै ग्यारेन्टी छैन ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेटले पनि निर्यातमा नगद अनुदानलाई निरन्तरता दिने भनेको छ । तर, उद्योगहरुले २ वर्ष देखिको भूक्तानी अहिलेसम्म पाएका छैनन् । यसबाट सरकारप्रति उद्योगीको विश्वास के भएको होला भन्ने सहजै बुझ्न सकिन्छ । केवल घोषणामात्रै गरेर भएन, त्यसको कार्यान्वयन प्रभावकारी हुनुप¥यो । बजेटले यस्ता विषयहरुलाई सम्बोधन गर्नुपथ्र्यो तर सम्बोधन गरेको देखिएको छैन ।

‘सार्क’ भन्ने दक्षिण एसियाली देशहरुको समूह छ । सार्क सम्मेलन नै नभएको वर्षौँ भइसक्यो । अब कहिले हुन्छ भन्नेपनि कुनै ग्यारेन्टी छैन । सार्क अन्तर्गत ‘साउथ एसियसन फ्री ट्रेड एरिया एग्रिमेन्ट’ (साफ्टा) भन्ने छ । अहिले भारतबाट जतिपनि आयात हुन्छ, यही ब्यापार सम्झौता अन्तर्गत आयात हुन्छ । सार्क आफै औचित्यहीन भइसकेको छ तर हामी भने साफ्टा अन्तर्गत भारतबाट हुने आयातमा ३० प्रतिशतको भन्सार छुट दिन्छौँ । जब सार्क नै प्रभावकारी छैन भने त्यसअन्तर्गत भनेर गरिएको ब्यापार सम्झौतालाई देखाएर किन भन्सार छुट दिने ? किन नोक्सानी ब्यहोर्ने ? म त के भन्छु भने, त्यहीँ साफ्टाकै कारण नेपालमा साना र मझौला उद्यमहरु जति आउनुपर्ने हो, त्यति आउन सकेका छैनन् ।

यो बजेटबाट साफ्टा अन्तर्गत दिने गरिएको भन्सार छुट सुविधा हट्छ भन्ने हामीलाई ठूलो आशा थियो । राजस्व पनि बढ्ने र स्वदेशमा उद्योग पनि बढ्ने भएकाले हामीले बारम्बार यो सुझाव दिँदै पनि आएका थियौँ । हामीले त अहिले सुविधा पाइरहेका छौँ, तरपनि दीर्घकालमा मुलुकलाई फाइदा होस् भनेर हामीले पाइरहेको सुविधा नदेउ भनेर सुझाव दिएका हौँ । तर, यसपालि पनि सुनुवाई भएन । हुनसक्छ, सार्क राष्ट्रको सदस्य भएको हुनाले हामीलाई यो निर्णय गर्न केही असजिलो भएको होला । त्यसो हुँदाहुँदै पनि आफ्नो देशको आवश्यकता र अवस्था हेरेर गर्न सकिने काम त गर्नुपर्छ नि ।

अहिले नेपालको उद्यम व्यवसायमा सबैभन्दा डरलाग्दो समस्या भनेको तस्करीको समस्या छ । तस्करी भएर आएका सामानले स्वदेशी उत्पादनसहित भन्सार तिरेर प्रक्रियागत रुपमा आयात भए वस्तु बिक्री नै नहुने जोखिम बढाएको छ । केही दिन अगाडिमात्रै विद्याधर मल्किक नेतृत्वको कर सुधार सिफारिस समितिले पनि तस्करीको समस्या विकराल बन्दै गएको कुरा उल्लेख गरेको छ । तस्करी पूर्णरुपमा रोक्न सक्ने हो भनेमात्रै ५ खर्बसम्म राजस्व बढ्छ भन्ने मेरो अनुमान छ । यसबाट दुईवटा फाइदा हुन्छ । पहिलो राजस्व बढ्ने भयो । दोस्रो, तस्करी भएर सामान आउन छोडेपछि स्वदेशमै उद्योग खुल्ने भयो । यसका लागि तस्करी घटाउँदै लैजाने योजना चाहिन्छ । हामीसँग ठूलो संख्यामा नेपाली सेना छ, सशस्त्र प्रहरी छ, आवश्यकताभन्दा बढीको संख्यामा रहेको सेना प्रहरीलाई प्रयोग गर्न सकिन्छ । यसका लागि बजेटकै बुँदामा घोषणा हुनुपर्छ भन्नेपनि होइन, सरकारले योजना बनाएर पनि काम गर्नसक्छ ।

अर्को कुरा, अहिले बिजुली निर्यातको कुरा खुब आइरहेको छ । अहिले हिउँदमा स्वदेशमै अपुग हुने भएपनि वर्षामा मागभन्दा उत्पादन बढी हुन्छ ।स्वदेशमा खपत बढाउने भन्दापनि हामी निकासीको मात्रै कुरा बढी गरिरहेका छौँ । बिजुली भनेको उद्योगको कच्चा पदार्थ हो, त्यसलाई यहीँ खपत गरेर वस्तु उत्पादन गरेर निकासी गर्दा पो फाइदा हुन्छ त । यसका लागि बिजुलीलाई अधिकतम स्वदेशमै खपत गर्ने दीर्घकालीन सोच बनाएर जानुपर्ने आजको आवश्यकता छ ।
यसकारण बजेटबाट जति सम्बोधन हुनसक्ने कुरा थिए, त्यति भएन । बजेटबाट सबै कुरा नआए पनि अर्थ मन्त्रालयले, राजस्व विभागले, उद्योग मन्त्रालयले गर्नसक्ने काम धेरै छन् । त्यसका लागि योजना बनाएर जान सकिएको अवस्थामा मुलुकका लागि दीर्घकालीन रुपमा राम्रो हुन्छ ।

बैङ्कमा थुप्रिएको पैसा लगानी भएर जाने खालको मौद्रिक नीति चाहिन्छ
हामीकहाँ अहिले मौद्रिक नीतिमार्फत धेरै कुराको अपेक्षा हुने गर्दछ । उद्योगी व्यवसायीमात्रै नभई, अहिले आम सर्वसाधारणले समेत मौद्रिक नीति कस्तो आउँछ भनेर हेरिरहेका हुन्छन् । तर, मौद्रिक नीतिको आफ्नै सीमा हुन्छ । मौद्रिक नीति कसिलो कि लचिलो भन्ने कोणबाट कुरा हुने गर्दछन् । कोभिड–१९ पछि लचिलो भएर त्यसपछि कसिलो बनेको मौद्रिक नीति अहिले क्रमिक रुपमा लचिलो बन्दै गएको देखिन्छ ।

अहिले पनि बैङ्कमा तरलता थुप्रिएको छ, लगानी हुन सकिरहेको छैन । बैङ्कमा जति धेरै पैसा थुप्रियो, त्यति नै धेरै बैङ्क तथा वित्तीय संस्थाहरु घाटामा जाने वा नाफा घट्ने हुन्छ । किन भन्दा, बैङ्कमा भएको पैसा उसले निक्षेपकर्तासँग ब्याज दिन्छु भनेर ल्याएको पैसा हो । जब बैङ्कले निक्षेपकर्ताबाट ल्याएको पैसा लगानी नै गर्नसक्दैन भने निक्षेपकर्तालाई ब्याज कहाँबाट ल्याएर दिने ? निक्षेपकर्तालाई ब्याज दिनपनि बैङ्कले संकलित निक्षेपलाई लगानी गर्नैपर्ने हुन्छ । यसकारण बैङ्कमा थुप्रिएको निक्षेप लगानी हुनसक्ने खालको नीति राष्ट्र बैङ्कले लिनुपर्छ ।

अर्कोतर्फ अहिले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनका लागि गएको छ । यो मौद्रिक नीतिसँग जोडिने विषय नभएपनि बाफिया संशोधनमा प्रस्तावित केही प्रावधानले असजिलो बनाउने देखिन्छ । उदाहरणको लागि कुनै बैङ्कमा मेरो २ प्रतिशत, ३ प्रतिशत, ४ प्रतिशत लगानी छ भने त्यो बैङ्कबाट कर्जा लिनमात्रै होइन, त्यहाँभित्र छिर्नै पाइँदैन । जबकि, कुनै लाभको पदमा बसेको पनि हुँदैन । निरीह लगानीकर्ता भएर बस्नुपर्ने बाध्यता छ । म त के भन्छु भने, कुनै बैङ्कमा कसैको १ प्रतिशतभन्दा कम संस्थापक सेयर छ, उ कुनै लाभको पदमा बसेको छैन भने त्यही बैङ्कबाट ऋण लिन पाउनुपर्छ ।

अहिले बाफिया संशोधन गरेर कुनै बैङ्क तथा वित्तीय संस्थामा कसैको १ प्रतिशत वा त्योभन्दा बढी लगानी छ भने कुनैपनि बैङ्क वित्तीय संस्थाबाटै ऋण नपाउने प्रावधान ल्याउन खोजिँदैछ । यो प्रावधानले ठूलो दुर्घटना निम्त्याउने जोखिम बढाएको छ । अहिले मन्दीका बेला बाफिया संशोधन गरेर जुन प्रावधान राख्न खोजिँदैछ, त्यो भनेको आगोमा घ्यू थप्ने काममात्रै हो ।
हिजो आवश्यकताले र ऐन, कानुन बमोजिम गरेको लगानीलाई देखाएर आज तँ उद्यम ब्यापार गर्नै अयोग्य भन्न मिल्दैन । कि नेपाल सरकारले तिम्रो जतिपनि लगानी छ, त्यो लगानी आजको बजार मूल्य अनुसार म किन्छु भन्नुप¥यो । संस्थापक सेयर सबै राष्ट्र बैङ्कले किनिदिने हो भने हामी बेच्न तयार छौँ ।

वा, जतिपनि संस्थापक सेयरधनी छन्, उनीहरुलाई बजार मूल्यअनुसार हरेक वर्ष १०÷१० प्रतिशतका दरले बेचेर ५ वर्षमा सबै सेयर बिक्री गरिसक्न दिएपनि हुन्छ । एकैपटक यसो गर्दापनि बाढी आउँछ, क्यापिटल बजारले थेग्नपनि सक्दैन । कतै निकास नदिई खोलो थुन्यो भने त्यसले भयानक दुर्घटना निम्त्याउँछ । यसकारण राष्ट्र बैङ्कले यतातर्फ पनि सोच्नुपर्छ ।

शशिकान्त अग्रवाल चिनी उत्पादक संघका अध्यक्ष हुन्। यो लेख बिजनेश पाना त्रैमासिक म्यागेजिनको पहिलो अङ्कबाट साभार गरिएको हो । 

spot_img
spot_img
शशिकान्त अग्रवाल
शशिकान्त अग्रवालhttps://businesspana.com
अध्यक्ष, चिनी उत्पादक संघ
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ३ जनाको नाम सर्टलिस्ट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...

केही ब्रोकरले कोल्याट्रलमा गडबड गरेपछि नेप्सेको कडा निर्देशन, २५ % रकम पहिल्यै तिर्नुपर्ने

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबारमा खरिद आदेश प्रविष्ट...

चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझावः एमआरपी कार्यान्वयनमा व्यवहारिकता अपनाइयोस्

नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी...

उद्योग वाणिज्य महासंघले ‘महिला उपाध्यक्ष’ पाउने सम्भावना अत्यन्त कम

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलोपटक महिला उपाध्यक्षको प्रावधान राखिए...

सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गर्यो सिफारिस

सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष...

चक्रपथ विस्तार गर्न चीनले दिने भयो ११ अर्ब, कलंकी–बसुन्धरा खण्डमा खर्च गरिने

काठमाडौँको चक्रपथ (रिङ रोड) विस्तार गर्न चीन सरकारले थप...
spot_img