नेपाल राष्ट्र बैंकले १००० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले १००० रुपैयाँ दरको ४३० मिलियन वटा अर्थात् ४३ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनी China Banknote Printing and Minting Corporation, China लाई दिएको हो ।
राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो। सो कम्पनीले नोट छपाईको लागि सबै भन्दा कम मूल्य कबुल गरेकोले राष्ट्र बैंकले उसैलाई नोट छाप्ने जिम्मा दिएको हो ।
कम्पनीलाई १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छपाईको ठेक्का दिईएको हो । राष्ट्र बैंकले आजको लागि तोकेको डलरको मूल्य १४१.४९ रुपैयाँले हिसाब गर्दा १००० रुपैयाँको एउटा नोट छपाईको खर्च ५ रुपैयाँ ५८ पैसा पर्ने भएको छ ।













