निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो ।
स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् मौन अवधि रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने तालिकामा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने तालिका छ ।
निर्वाचनमा भाग लिनका लागि कात्तिक ३० अगाडि नै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।