नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा जनकराज गिरी सहमहामन्त्री पदमा उम्मेदवार छन् । सुदूरपश्चिम कांग्रेसका प्रभावशाली नेता गिरीले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवार दिएका हुन् ।
फागुन २१ गतेको निर्वाचनमा देशैभरी फरक खालको माहोल बन्दा पनि उनी बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सालिन, भद्र र प्रष्ट राजनीतिक अडानका कारण उनी लोकप्रीय नेताका रुपमा चिनिन्छन् ।
नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला लगायत दिवङ्गत नेताहरुको सामिप्यतामा रहेर काम गरेका उनी कांग्रेसको विशेष महाधिवेशनका अगुवामध्ये एक हुन् । केन्द्रमा गगन थापा र विश्व प्रकाश पौडेल लगायतका नेताहरुले विशेष महाधिवेशनको अगुवाई गरिरहँदा सुदूरपश्चिम प्रदेशबाट विशेष महाधिवेशनको पक्षमा माहोल बनाउन गिरी अग्र पङ्तिमा खटिएका थिए ।
उनी २०५६ सालमा ३२ वर्षको उमेरमै सांसद बनेका थिए । त्यतिबेला तत्कालिन सरकारमा भूमीसुधार सहायक राज्यमन्त्रीको जिम्मेवारी समेत उनले कुशलतापूर्वक निर्वाह गरेका थिए ।
पार्टीको केन्द्रीय नेतृत्वमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व बलियो बनाउने उद्देश्यसहित आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिएको गिरीले बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुको सहयोग र आफू प्रतिको विश्वास नै आफ्नो विजयीको आधार बन्ने बताएका छन् ।









