‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनको अन्तिम तयारीमा सरकार जुटेको छ । गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक गरेर सरकारले थन्किएको मासु जाँच ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ । यस अन्तर्गत पहिलो चरणमा अब मंसिर १ गतेबाट काठमाडौँ उपत्यकामा यो ऐन लागू हुँदैछ ।
मानव स्वास्थ्यसँग जोडिएको विषयमा बनेको कानूनन २८ वर्षसम्म कार्यान्वयन हुन नसकेको र अब कुनैपनि हालतमा कार्यान्वयन गराएरै छाड्ने तयारीमा सरकार छ । यसका लागि आवश्यक जनशक्ति खटाउने सम्मको काम अन्तिम चरणमा पुगिसकेको छ ।
के छ ऐनमा ?
पशुपन्क्षीबाट मानिसमा सर्न सक्ने विभिन्न रोगहरु हुन्छन् । खासगरी, मासु सेवन गर्दा गुणस्तरीय वा खानका लागि योग्य नभए त्यसबाट मानिसमा विभिन्न संक्रमणको जोखिम रहने डर हुन्छ । सडकका किनार, नदी तथा खोला आसपास, फोहोरमैला फालिने ठाउँ नजिक पशु बध गर्ने र त्यसरी तयार पारिएको मासु बिना कुनै परीक्षण बजारमा पठाइँदा मानिसमा संक्रमणको जोखिम उच्च हुने जोखिम रहन्छ ।
अब यस्तो जोखिम न्यूनीकरण गर्न २८ वर्षअघि बनेको ऐन कडाइसाथ लागु गर्न खोजिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताएकी छिन् । उनका अब पशु चिकित्सक तथा मासु निरीक्षकबाट खानयोग्य भनेर प्रमाणित गरिएको मासु मात्रै बजारमा पठाइनेछ ।
यति मात्रै होइन, खटिएका पशु चिकित्सक तथा मासु निरीक्षकले वध गर्नुअघि पशु स्वस्थ छ कि छैन भनेर पनि परीक्षण गर्नेछन् । अस्वस्थ पशु वध गर्न दिइने छैन । स्वस्थ प्रमाणित भएर पशु वध गरिसकेपछि पुनः मासुको परीक्षण गरिन्छ । त्यसपछि खानयोग्य प्रमाणित भएमा मात्रै त्यस्तो मासु बजार पठाइन्छ ।
बजार पठाउँदा मासुका पिसमा मासु निरीक्षकले छाप लगाएँछन् । छाप लगाएपछि मात्रै त्यो मासु बजार पठाउन योग्य हुन्छ ।
उपत्यकाबाट सुरु, स्थानीय तहअनुसार निरीक्षक खटिँदै
यो ऐन सुरुमा काठमाडौँ उपत्यकामा लागू हुनेछ । मंसिर १ गतेदेखि काठमाडौं, ललितपुर र भक्तपुरका २१ वटा स्थानीय तहमा यो ऐन अनिवार्य गरिँदैछ । यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले २२७ जना मासु निरीक्षक खटाउने भएको छ ।
यीमध्ये काठमाडौंमा १३७ जना, ललितपुरमा ५६ जना र भक्तपुरमा ३४ जना मासु निरीक्षक तथा पशु चिकित्सक खटिँदैछन् । काठमाडौं महानगरपालिकामा ५३ जना, बूढानीलकण्ठ नगरपालिकामा १६ जना, कीर्तिपुर नगरपालिकामा १३ जना, चन्द्रागिरि नगरपालिकामा १३ जना, तारकेश्वर नगरपालिकामा १० जना र टोखा नगरपालिका ८ जना मासु निरीक्षक खटाइएको छ ।
नागार्जुन नगरपालिकामा ७ जना, गोकर्णेश्वर नगरपालिकामा ६ जना, कागेश्वरी मनोहरा नगरपालिकामा ५ जना, शंखरापुर नगरपालिकामामा ४ जना र दक्षिणकाली नगरपालिकामा २ जना मासु निरीक्षक परिचालन गरिनेछ । यसैगरी, ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकामा ३३ जना, महालक्ष्मी नगरपालिकामा १२ जना, गोदावरी नगरपालिकामा ८ जना, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा १÷१ जना मासु निरीक्षक खटाएको छ ।
भक्तपुरतर्फ मध्यपुर थिमि नगरपालिकामा १२ जना, भक्तपुर नगरपालिकामा ८ जना, सूर्यविनायक नगरपालिकामा ८ जना र चाँगुनारायण नगरपालिकामा ६ जना मासु निरीक्षक खटाइएको छ ।
यति मात्रै नभई, ८ जना प्राविधिक सहसचिवको नेतृत्वमा समन्वय टोली पनि खटाइएको छ । यसरी खटिने प्राविधिक सहसचिवमध्ये काठमाडौंमा डा. विनयकुमार कर्ण, डा. हेमराज अवस्थी र डा. सुजन राना रहेका छन् । ललितपुरमा डा. बरुणकुमार शर्मा, डा. सुलोचना श्रेष्ठ र डा. प्रज्ञा कोइराला खटिँदा डा. विकास श्रेष्ठ र डा. जगदीश पाण्डे भक्तपुरमा खटिने छन् ।
माघदेखि काठमाडौँ बाहिर पनि
सरकारले यो ऐन काठमाडौँ उपत्यकामा मात्रै सिमित नराखी क्रमशः देशभरी लागू गर्ने जनाएको छ । पहिलो चरणमा काठमाडौँ उपत्यकामा लागू गरिने यो कानून दोस्रो चरणमा माघ १ गतेदेखि काठमाडौँ बाहिरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामामा लागू हुनेछ ।
तेस्रो चरणमा आउँदो साउन १ देखि देशभरका सबै गाउँपालिकामा पनि लागु गर्ने सरकारको तयारी छ ।









