हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष कायम छ । तर, सरकारले कर्मचारीको अवकाश उमेर ५५ वर्ष कायम गर्दै संघीय निजामती सेवा विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
नयाँ विधेयकमा नयाँ कुरा के छन् ?
निजामती सेवा विधेयक लामो समयदेखि अड्एिको थियो । सामान्य प्रशासन मन्त्रालयले गत जेठ १२ गते कानुनी परामर्श तथा स्वीकृतिका लागि भन्दै उक्त विधेयक कानुन मन्त्रालय पठाएको थियो । त्यसपछि कानून मन्त्रालयले भाषागत कुरा मात्रै हेरेर विधेयकलाई साउन २५ गते पुनः सामान्य प्रशासनमै फर्काइदिएको थियो ।
त्यतिबेला उमेरहद ५५ वर्ष कायम गर्ने, सेवा अवधि ३० वर्ष कायम गर्ने र ३० वर्षभन्दा बढी समय काम गरिसकेका कर्मचारीलाई पेन्सन दिँदा ३० वर्षभन्दा बढी अवधि गणना नगर्ने प्रस्ताव विधेयकमा थियो । ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हदमा खासै विमति नदेखिएपनि अहिले नै ३० वर्षभन्दा बढी समय काम गरिसकेका कर्मचारीलाई बढी काम गरेको अवधिको पेन्सन नदिने भन्ने प्रस्तावप्रति कर्मचारी वृत्तमा असन्तुष्टि थियो ।
कानून मन्त्रालयले पनि मुख्यतया यी तीन विषयमै केन्द्रित रहेर दुइ महिनाभन्दा लामो समय विधेयकमा आन्तरिक छलफल गरेको थियो । जेठ १२ गतेदेखि साउन २४ गतेसम्म छलफल गरेर कानून मन्त्रालयले साउन २५ गते विधेयक सामान्य प्रशासन मन्त्रालयमा फर्कादिएको थियो ।
कानून मन्त्रालयले प्रस्तावित विधेयकको मर्म फेरबदल नहुने गरी भाषागत विषय मात्रै हेरिएको जनाएको छ । तर, अहिले मन्त्रिपरिषदले संसदमा पेश गर्न स्वीकृति दिएको विधेयकमा पेन्सन अवधिको गणना सम्बन्धित पूरानो प्रस्ताव हटाइएको बताइएको छ । यद्यपी, विधेयको मस्यौदा भने सार्वजनिक भइसकेको छैन ।
यदि सामान्य प्रशासनले गरेको विधेयकको मस्यौदा अनुसारको पेन्सन अवधि गणना नहुने हो भने अब ३० वर्षभन्दा बढी अवधि सेवा गरिसकेका कर्मचारीले सम्पूर्ण सेवा अवधिकै आधारमा पेन्सन पाउने छन् । तर, त्यसका लागि यो विधेयक संसदबाट पास भएर ऐनका रुपमा कार्यान्वयनमा आउनुपर्ने हुन्छ ।
मन्त्रिपरिषदले संसदमा पेश गर्न स्वीकृति दिएसँगै अब विधेयकमा के कस्ता प्रावधान थप्ने वा हालको मस्यौदामा उल्लेखित प्रावधानहरु के कति राख्ने तथा संशोधन गर्ने भन्ने विषय सांसदको हातमा पुगेको छ ।











