बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने रसुवागढी–केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रबाट ठूलो संख्यामा मालबाहक कन्टेनर र ट्रकसहित चालक र अन्य कर्मचारी सम्पर्कविहीन भएका छन् ।
व्यवसायीहरुका अनुसार उक्त बाढीका कारण मालवाहक कन्टेनर तथा ट्रक व्यवसायमा अहिलेसम्मकै ठूलो र अकल्पनीय क्षति पुगेको छ ।
बाढीमा परेर तीन, दशैँ र तिहारका लागि सामान लिन रसुवागढी गएका ४ सयभन्दा बढी कन्टेनर, ट्रक र चालक, सहचालक, मजदुर र व्यवसायी गरी १ हजारभन्दा बढी व्यक्तिहरु सम्पर्कविहीन भएको व्यवसायीहरूले बताएका हुन् ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार उक्त संस्थामा दर्ता भएका ९६६ वटा कन्टेनरमध्ये बाढी आउनुअघि मात्रै करिब १७५ वटा गाडी सामान लिन केरुङतर्फ गएका थिए ।
अहिले ती गाडी र त्यसमा कार्यरत चालक, सहचालक र कतिपय गाडीका साहुसमेत हराइरहेका छन् । यसरी हराउनेहरुको संख्या ४ सयभन्दा माथि रहेको अनुमान गरिएको छ ।
साथै व्यापारी, भन्सार एजेन्टसमेत जोड्दा बेपत्ता हुने (हालसम्म सम्पर्कमा नआएका)को संख्या १ हजारभन्दा धेरै माथि पुग्ने व्यवसायीहरुले अनुमान गरेका छन् ।











