नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरूप चेक हस्तान्तरण गरेको छ ।
जस अन्तर्गत एमएडब्लू ग्रुपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख र परिसंघ गभर्निङ काउन्सिल सदस्यसमेत रहेका उद्योगी विजयकुमार शाहले १ करोड रुपैयाँ सहयोग गरेका छन् । जावलाखेल डिस्टिलरीबाट १ करोड, हिमालयन डिस्टिलरीबाट १ करोड, हिमालयन बुलियन कम्पनीबाट १ करोड १ लाख सहयोग उपलब्ध गराइएको छ ।
यसैगरी, चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग सरकारले पाउने भएको छ । यस्तै, नेपाल आदर्श निर्माण कम्पनीबाट १० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको परिसंघले जनाएको छ ।
गुड होम प्रडक्ट्सबाट २ लाख २१ हजार, ब्रिटिस कलर इन्डस्ट्रिज २ लाख १० हजार, लाङटाङ रि ट्रेडिङबाट १ लाख १२ हजार, कास ट्रेडिङबाट १ लाख ११ हजार १ सय ११, सिल्भर लाइनिङबाट १ लाख ११ हजार १ सय ११ र ग्लोकल प्रालिबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान भएको छ ।
यसअघि परिसंघकै समन्वयमा गोरखा ब्रुअरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको छ ।











