त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम बाँडफाँट गर्ने २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई धादिङबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा रहेका ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकको शाखा कार्यालयहरू बगाएको थियो । बाढीले बैंकमा रहेको नगद र अरु धितो बापतको सम्पत्ति पनि बगाएको थियो ।
सोही बाढीले बगाउँदै ल्याएको एउटा भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । उक्त भल्ट फोरेर पैसा बाँडिएको भन्दै रास्वपा सांसद आशिका तामाङले प्रशासन र प्रहरीमा समेत खबर गरिदिएकी थिइन् ।
पैसा लिने अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।











