भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि चौधरी फाउन्डेशन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गरेका छन् ।
बुधबारको भयानक बाढीबाट प्रभावितहरूका लागि दुई संस्थाले संयुक्त रूपमा राहत प्याकेज घोषणा गरेका हुन् ।
यस अभियानअन्तर्गत आपत्कालीन राहतदेखि लिएर अस्थायी आवास निर्माण र दीर्घकालीन स्वास्थ्य तयारीसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन्।
राहत प्याकेज अन्तर्गत भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल र व्यक्तिगत सरसफाइका सामग्रीहरू वितरण सुरु गरिएको छ । यसका लागि फाउन्डेशन र बैंकका कर्मचारीहरू स्थानीयस्तरमै परिचालित हुने बताइएको छ ।
स्थानीय प्रशासनसँगको समन्वयमा रसुवा र नुवाकोटमा एक–एक वटा व्यवस्थित राहत शिविर स्थापना गरी दैनिक भोजनको व्यवस्था गरिने पनि बताइएको छ । साथै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्राथमिक स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
बाढीमा परेर घर पूर्ण रूपमा भत्किएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने छ । सरकारसँगको सहकार्यमा निर्माण हुने यी आवासहरू भूकम्प प्रतिरोधी प्रविधिमा आधारित हुनेछन् ।
चौधरी फाउन्डेशन र नबिल बैंकले स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैगरी, धुलिखेल अस्पतालसँग मिलेर संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने पनि बताइएको छ ।
चौधरी फाउन्डेशन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको बताएका छन्। ‘हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन, उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिवद्ध छौँ,’ उनले भनेका छन् ।











