नेपाल उद्योग वाणिज्य काठमाडौँले उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पक्राउ परेपछि संघले यस्ता घटनाले निजी क्षेत्रमाथि अनावश्यक दबाब र भयको वातावरण सिर्जना गर्ने जनाएको हो ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘अनुसन्धान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई अनावश्यक रूपमा दुःख, हैरानी तथा मानमर्दन हुने गरी हिरासतमा राखी अनुसन्धान गरिएको कार्यप्रति यस संघले कडा विरोध व्यक्त गर्दछ’ भनिएको छ ।
संघले वित्तीय प्रकृतिका आरोप र फौजदारी अभियोगलाई फरक कोणबाट हेरेर अनुसन्धान गरिनुपर्ने बताउँदै हिरासतमा राख्न नहुने पनि जनाएको छ । यस्ता प्रकृतिका मुद्दामा पहिला सम्बन्धित पक्षलाई सुन्ने, अनुसन्धानमार्फत तथ्य प्रमाणित गर्ने र दोष पुष्टि भएपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने विधि अवलम्बन गरिनु आवश्यक रहेको संघको भनाइ छ ।
‘हाल देखिएको अभ्यास अनुसार अनुसन्धानकै क्रममा उद्योगी–व्यवसायीहरूलाई थुनामा राख्ने, बैंक खाता रोक्का गर्ने तथा व्यवसायिक गतिविधि अवरुद्ध गर्ने कार्यले समग्र आर्थिक वातावरणमा नकारात्मक असर गर्नेछ’ संघले भनेको छ, ‘यसले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै लगानीमैत्री वातावरणलाई समेत प्रभावित बनाउँछ । यथाशिघ्र अविलम्ब हिरासतमुक्त गरी हाजिरी जमानीमा अनुसन्धानको माग गर्दछ ।’













