नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ । उत्पादन लागतमा वृद्धि भएको भन्दै महासंघले मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।
महासंघले शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ ।
बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाउँदै महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउनुपर्ने आवश्यकता देखिएको जनाएको हो । पेट्रोलियम पदार्थ (डिजेल) को अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि बढेको महासंघको भनाइ छ ।
हाल नेपालमा ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन् । जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल कायम मूल्यमा पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षमा हामी पुगेका छौं ।’













