पाकिस्तानमा आयोजित इरान र अमेरिकाबीचको वार्ता असफल भएसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा नाकाबन्दीको घोषणा गरेका छन् । उनले आफ्नो ट्रुथ सोसलमा पोस्ट गर्दै स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरु) मा तत्काल नाकाबन्दी लागू गर्ने घोषणा गरेका हुन्। शान्ति वार्ता असफल भएपछि आएको यो कदमले मध्यपूर्वमा तनाव थप बढाएको छ।
ट्रम्पले पोस्टमा लेखेका छन्, “इरानले हर्मुज जलडमरु खोल्ने वाचा गरेको थियो तर जानाजानी असफल भयो। यसले विश्वभरि तनाव, अस्थिरता र पीडा निम्त्याएको छ। प्रभावकारी रूपमा तत्कालै दुनिया कै उत्कृष्ट अमेरिकी नौसेनाले हर्मुज जलडमरुमा प्रवेश गर्ने वा बाहिरिने सबै जहाजहरूलाई नाकाबन्दी गर्न थाल्नेछ।”
ट्रम्पले के भनेका छन्?
उनले स्पष्ट रूपमा भन्छन् कि अमेरिकी नौसेनाले तत्कालै हर्मुज जलडमरु प्रवेश गर्ने र बाहिरिने सबै जहाजहरूलाई रोक्नेछ। हर्मुज पार गर्नको लागि इरानलाई तिरिने कर गैर कानूनी भन्दै उनले कर तिरेका सबै जहाजलाई रोक्न निर्देशन दिएको बताएका छन् । उनले हर्मुज मुनि इरानले राखेका भनिएका विस्फोटक पदार्थ नष्ट गर्न थालिने बताएका छन्। उनले थप सैन्य कारबाही गरेर इरानको बाँकी भएको सम्पूर्ण क्षमता पनि ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
शान्ति वार्ता पाकिस्तानको इस्लामाबादमा असफल भएपछि यो नाकाबन्दीले तेल आपूर्ति, विश्वव्यापी ढुवानी र तेलको मूल्यमा ठूलो प्रभाव पार्न सक्छ। इरानको सैन्य क्षमता धेरै हदसम्म क्षतिग्रस्त भइसकेको दाबी गर्दै ट्रम्पले थप सैन्य कारबाहीको तयारी गरेको देखिन्छ। विश्वका अन्य देशहरू (चीन, फ्रान्स, जापान आदि) ले पनि हर्मुज सुरक्षित राख्न युद्धपोत पठाउने सम्भावना छ। तेलको मूल्य बढ्ने, मध्यपूर्वमा थप द्वन्द्व निम्तिने र कूटनीतिक प्रयास तीव्र हुने सम्भावना छ।












