नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि युवा व्यवसायी सचिन ढकालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । उनले एशोसिएट तर्फबाट केन्द्रीय सस्दयको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले नेपालको निजी क्षेत्र तीव्र रूपान्तरणको चरणमा रहेको वर्तमान परिप्रेक्ष्यमा कर्पोरेट नेतृत्वले पनि नयाँ र आधुनिक दृष्टिकोण अपनाउनु अपरिहार्य रहेको बताएका छन्। गौरवशाली व्यावसायिक विरासत र भविष्यका गतिशील उद्योगहरू बीचको सुदृढ पुल बन्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्।
खेलकुदलाई उच्च प्रतिफल दिने व्यावसायिक उद्योगको रूपमा स्थापित गर्न, आधुनिक पर्यटन पूर्वाधारको विस्तार गर्न र नवप्रवर्तनशील उद्यमहरूका लागि विद्यमान प्रशासनिक झन्झट अन्त्य गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने उनले उल्लेख गरेका छन्। समग्र अर्थतन्त्रको आधुनिकीकरण र निजी क्षेत्रको सबलीकरणका लागि उम्मेवारी दिएको उनले बताएका छन् ।
सचिन ढकाल हालका महासंघ अध्यक्ष रहेका चन्द्र ढकालका छोरा हुन् । युवा व्यवसायी ढकाल होटल तथा पर्यटन व्यवसायसहित खेलकुदमा पनि आवद्ध छन् ।
सचिन ढकाल दुबै समूहको साझा उम्मेदवार बनेका छन् । एसोसियट तर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठ प्यानलसहित मैदान उत्रिँदा उनी भने दुबै समूहको साझा उम्मेदवार बनेका हुन् ।
एसोसियट तर्फबाट १९ जना केन्द्रीय निर्वाचित हुने प्रावधान रहेकोमा ३७ जनाको उम्मेदवारी परेको छ । दुई समूहले प्यानलसहित उम्मेदवारी दिएपनि ढकाल भने दुबै समूहका साझा उम्मेदवार बन्न सफल भएका हुन् ।
पाण्डे र श्रेष्ठ दुबै समूहले ढकाललाई आफ्नो समूहको उम्मेदवार भन्दै उनको आगमनले आफ्नो समूह बलियो बनेको दाबी गरेका छन् । ढकाल महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा भएकाले पनि उनलाई दुबै समूहले भित्र्याउन निकै पहल गरेका थिए ।













