नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम नागरिकलाई आग्रह गरेको छ। निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गर्दै उपाभोक्ताले सहयोग गर्नुपर्ने बताएको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरले बिदा पायौँ भनेर गाडी निकालेर घुम्न नजान आग्रह गरे। जसरी भए पनि इन्धन खपत कम गर्ने भएकोले जनताको पनि योगदान चाहिने उनले बताए । उनले भने “अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।”
पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ ।












