‘पारदर्शिता र कर प्रयोजनका लागि सूचना आदानप्रदानसम्बन्धी ग्लोबल फोरम’ को १७३ औं सदस्यका रूपमा नेपाल आवद्द भएको छ। यो सदस्यता अन्तर्राष्ट्रिय कर सहयोग र सुदृढ वित्तीय सुशासनतर्फ नेपालको यात्रामा एक निर्णायक कदम रहेको आन्तरिक राजस्व विभागले जनाएको छ।
ग्लोबल फोरममा आवद्ध भएसँगै, नेपाल सूचना आदानप्रदानका विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्ने प्रमुख अन्तर्राष्ट्रिय निकायसँग एकाकार भएको छ। आर्थिक निष्ठा सुनिश्चित गर्न, वैदेशिक कर छलीको निगरानीका साथै सम्भावित सम्पत्ति शुद्धीकरणका प्रयासहरू लगायत अवैध वित्तीय प्रवाह (IFFs) विरुद्धको विश्वव्यापी सहयोगलाई सुदृढ गर्न , आन्तरिक स्रोत परिचालनमा वृद्धि गर्न, तथा राष्ट्रिय विकास आयोजनाहरूमा लगानी गर्नका लागि निष्पक्ष कर संकलन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै नेपालले वित्तीय पारदर्शिताका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दछ भन्ने सन्देश
विदेशी लगानीकर्ताहरूलाई प्रवाह गर्ने विश्वास पनि गरिएको छ ।
आगामी कदम र कार्यान्वयन
नयाँ सदस्यका रूपमा, नेपालले अब ‘अनुरोधमा सूचना आदानप्रदान’ (EOIR) र ‘साझा रिपोर्टिङ मापदण्ड’ (CRS) अन्तर्गत ‘सूचनाको स्वचालित आदानप्रदान’ (AEOI) सम्बन्धी मापदण्डहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न ‘पियर रिभ्यु’ (Peer Review) प्रक्रियामा भाग लिनेछ । नेपालको कानुनी र नियामक ढाँचाहरू विश्वव्यापी सर्वोत्तम अभ्यासहरूसँग पूर्ण रूपमा मेल खाने कुरा सुनिश्चित गर्दै सरकार ग्लोबल फोरम सचिवालयसँग नजिक रहेर काम गर्न प्रतिबद्ध रहेको जनाएको छ।












