अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन् – “इरानले यो ठ्याक्कै समयबाट ४८ घण्टाभित्र हर्मुज जलमार्ग कुनै खाता बिना नै पूर्ण रूपमा नखोलेमा अमेरिकाले उनीहरूका विभिन्न पावर प्लान्टहरूलाई आक्रमण गरी ध्वस्त पार्नेछ, र सुरुमा सबैभन्दा ठूलो प्लान्टबाट आक्रमण सुरु हुनेछ !”
यो चेतावनी इरान-इजरायल-अमेरिका युद्धको चौथो सातामा आएको हो । हाल हर्मुज जलमार्ग बन्द हुँदा विश्वव्यापी तेल आपूर्ति प्रभावित भएको छ र तेलको मूल्य आकाशिँदै गएको छ । ट्रम्पले यसअघि युद्धलाई ‘समाप्त’ गर्ने कुरा गरे पनि अहिले इरानमाथि थप दबाब बढाएका छन् ।
ट्रम्पले विभिन्न पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी दिएका हुन्। उनले न्युकिलियर पावर प्लान्टमा नभई विजुली उत्पादन गर्ने थर्मल र ग्यास प्लान्टमा आक्रमणको चेतावनी दिएका हुन् ।
हाल इरानको सबैभन्दा ठूलो प्लान्टको रुपमा दमावन्द प्लान्ट रहेको छ, जसमा क्षमता २८६८ मेगावाट रहेको छ । त्यस्तै दोस्रो ठूलो केरमान प्लान्ट (१,९१० मेगावाट ) र तेस्रो ठूलो रामिन प्लान्ट (१,८९० मेगावाट रहेको छ) ।
के साँच्चै आक्रमण होला?
यो अहिलेसम्म धम्की मात्र हो । ४८ घण्टाको डेडलाइन (ट्रम्पको पोस्टको समयबाट) अझै बाँकी छ । ट्रम्पले विगतमा इरानमाथि कडा कदम चालेका छन् , तर युद्धलाई “समाप्त” गर्न खोजिरहेको बेला पूर्ण आक्रमणको सम्भावना कम रहेको अन्तरास्ट्रिय संचारमाध्यामहरुले बताएका छन्। यो मुख्य रूपमा तेल आपूर्ति खोल्न दबाब दिने रणनीतिको रुपमा लिइएको छ। यदि हर्मुज खुल्यो भने आक्रमण नहुन सक्छ । तर युद्ध बढ्दै गएको अवस्थामा जोखिम उच्च छ ।
आक्रमण भयो भने तेहरान र आसपासका क्षेत्रमा ठूलो बिजुली कटौती हुने बताईएको छ, जसबाट अस्पताल, उद्योग, पानी पम्पिङ, इन्टरनेट सबै प्रभावित हुने छन् । त्यस्तै अर्थतन्त्रमा ठूलो धक्का लाग्ने र लाखौं नागरिक प्रभावित हुने देखिन्छ ।
इरानको जवाफ
इरानी सैन्य कमान्ड ‘खातम अल-अन्बिया’ ले तत्काल जवाफ दिँदै भनेको छ – “यदि इरानको इन्धन तथा ऊर्जा पूर्वाधारमा आक्रमण भयो भने क्षेत्रका सबै अमेरिकी ऊर्जा पूर्वाधार, सूचना प्रविधि तथा डिसेलिनेसन प्लान्टहरूलाई लक्ष्य बनाइनेछ ।” अर्थात् इरानले अमेरिका र सहयोगी देशहरूको क्षेत्रीय ऊर्जा पूर्वाधार (तेल डिपो, डिसेलिनेसन प्लान्ट आदि) लाई लक्ष्य बनाउने चेतावनी दिएको छ । अर्थात् इरानले साउदी, कतार, कुवेत, युएई लगायतका देशका उर्जा पूर्वाधार तथा सूचना प्रविधि पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकाले आफ्नो उर्जा प्लान्टमा आक्रमण गरेमा इरानले मध्यपूर्व क्षेत्रमा रहेका माइक्रोसफ्ट, गुगल, अमेजोन लगायतका अमेरिकी कम्पनी रहेका ठाउँलाई निशाना बनाउन सक्छ ।
ट्रम्पको चेतावनीले मध्यपूर्वको तनाव झनै बढाएको छ ।












