निरन्तरको वर्षाका कारण रोशी खोलाको बहाब बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलामा पानीको बहाव कम भएको र खोलाले बगाएको अस्थायी सडक मर्मत गरेपश्चात शनिबार बिहान करिब ८ः३० बजेबाट राजमार्ग सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुरुमा साना सवारी साधन सञ्चालन हुन सक्ने गरी सडक मर्मत गरिएको थियो । अहिले भने साना ठूला सबै सवारीहरु चल्न थालेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने अहिले बीपी राजमार्ग खुलाएर सवारी साधन सञ्चालन हुन थालेपनि वर्षाको सम्भावना कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
यसअघि शुक्रबार अपरान्हदेखि परेको पानीका कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिका ११ दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको थियो ।
राजमार्ग अवरुद्ध हुँदा सवारी साधनलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा होल्ड गरिएको थियो भने सिन्धुलीतर्फ दुम्जा (नेपालथोक)मै होल्ड गरिएको थियो ।












