गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको हो।
समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले बिहीबार बेलुकी ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ ।
आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन् ।












